आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाँजा प्रकरण : फरार वृद्ध दाजुभाइ पन्ध्र वर्षपछि पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • खोटाङ । लागुऔषध (गाँजा) मुद्दामा फरार रहेका पश्चिमी गाविस डिकुवा–२ का ८३ वर्षीय नरबहादुर मगर र उनका भाइ ७५ वर्षीय हर्कबहादुर मगर पक्राउ परेका छन् ।

    लागुऔषध मुद्दामा एक वर्ष कैद र रु पाँच हजार जरिवाना भुक्तानी गर्न बाँकी मगर दाजुभाइलाई १५ वर्षपछि पक्राउ गरिएको हो ।

    अदालतमा मुद्दा दायर हुनासाथ फरार रहेका मगर दाजुभाइलाई घरमा आएको समयमा आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दाजुभाइलाई सोमबार जिल्ला अदालतमा हाजिर गराएर सोही दिन साँझ कारागार चलान गरिएको प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

    पक्राउ परेका मगर दाजुभाइसहित छ जनालाई जिल्ला अदालतले २०५९ असोज १ गते एक÷एक वर्ष कैद र पाँच÷पाँच हजार जरिवाना हुने फैसला सुनाएको थियो । फरार रहेकामध्ये चार जनाको मृत्यु भइसकेको छ ।

    जिवित रहेका मगर दाजुभाइबाट कैद तथा जरिवाना भुक्तानीका लागि अदालतले गत साउन २५ गते प्रहरी कार्यालयमा फरारको लागत किताब पठाएको थियो । अदालतको किताबका आधारमा यसअघि निर्दोष रहेका डिकुवा–६ का नरबहादुर मगरलाई गत पुस २४ गते प्रहरीले पक्राउ गरेको थियो ।

    अदालतको फरार लागत किताबका आधारमा पक्राउ गर्दा निर्दोष रहेका व्यक्ति परेको थाहा पाएपछि माघ ८ गते साँझ उनलाई छाडिएको थियो । पुस २९ गते कारागार चलान भएका निर्दोष मगरलाई अदालतको पत्रका आधारमा कारागारले छाडेको हो ।

    निर्दोष व्यक्ति पक्राउ पर्नुमा आफूहरुको कुनै गल्ती नरहेको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । “अदालतले उपलब्ध गराएको किताबमा डिकुवा–६ का नरबहादुर मगर नै भनेर लेखिएको छ ।” उनले भने – “सोही किताबका आधारमा खोजी गर्दा नामथर मिलेकाले उनलाई पक्राउ गरिएको हो । यसमा प्रहरीको कुनै गल्ती छैन ।”

    निर्दोष व्यक्ति पक्राउ परेर कारबाही भोग्नुमा प्राविधिक त्रुटि भएको अदालतले स्वीकार गरेको छ । दोषी ठहरिएका व्यक्तिको ठेगाना डिकुवा–२ हुनुपर्नेमा भुलबस डिकुवा–६ लेखिएकाले निर्दोष व्यक्ति परेको अदालतको भनाइ छ ।

    पुरानो मुद्दाका दोषीको तीनपुस्ते तथा फोटो नहुनाले पनि समस्या भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने डिकुवा–६ का नरबहादुर गर्वुजामगर हुन् ।

    गर्वुजामगर आफू निर्दोष रहेको जानकारी गराउँदासमेत प्रहरीले जबर्जस्ती पक्राउ गरेको बताउनुभएको छ । प्रहरीले नामथर मिलेकै आधारमा निर्दोष व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नु मानवअधिकार हनन भएको अधिकारकर्मीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij