प्रकाशित मिति : बुधबार, माघ १२, २०७३
कुलतमा फसेकालाई सही ट्रयाकमा ल्याउन थोरै मिहेनत गरे पुग्छ, तर दुई नम्बरीमा धन्दामा लागेकाहरूसँग करोडौं रुपैयाँ भएपनि एक नम्बरी धन्दा गर्न रुचाँउदैनन् भन्ने कुरा एक सुन तस्करको जीवनमा मेल खाएको छ ।
दश बर्ष अघिसम्म गाडी चालकको रुपमा चिनिने सिन्धुपाल्चोकका साङ्गे शेर्पा पछिल्लो समय सुन तस्करी गर्ने बादशाहका रुपमै चिनने थाले । दश बर्षको दौरानमा शेर्पा सुन बोक्ने भरियाबाट क्यारिङवाला बन्दै सुन तस्करीका मालिक नै बने ।
चाईनाको खासाका टिपटेन नागरिकसँग मिलेर बिगत पाँच बर्षदेखी सुन तस्करीमा लागेका शेर्पाले तस्करीबाट आफूलाई नवधनाढ्यका रुपमा चिनाउनसमेत सफल हुँदै हाईफाईको जिवनमा रमाउन थाले ।
०७२ बैशाखकोे भूकम्पपश्चात् सबैको लागी बन्द भएको तातोपानी नाका र मितेरीपुलमा भएको चाईनाको गेट साङ्गे शेर्पाको लागी भने सुन तस्करी गर्न खुला हुने गरेको पुष्टि भयो, जब उनले ल्याएको १८ किलो सुन प्रहरीले बरामत ग¥यो । चाइना गेट बन्द हुँदासमेत शेर्पाले सुन ल्याउन सफल भएपछि चाईनामा समेत उनको ठूलो सेटिङ भएको पुष्टि भयो । सेटिङ नाईके भने उनका दाजु छिरिङ शेर्पा हुन् ।
तातोपानीबाट राजधानी भित्रिदै गरेको बा.९च. १४६३ नम्बरको कालोकारमा बिस्कुट आकारका १८ थान सुन लुकाई–छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । गाडीको डिक्कीको तल्लो भागमा म्याटमुनी कालो प्लाष्टिकले बेरेर राखिएको अवस्थामा सुन बरामद भएको थियो ।
१८ किलो सुनसहित ७ महिना अगाडी पक्राउ परेका शेर्पालाई उक्त परिमाणको सुनको मूल्यबाट हुन आउने करिब ९ करोड धरौटी राख्न राजश्व अनुसन्धान बिभागले आदेश जारी गर्दै धरौंटी जम्मा गर्न नसके कानून बमोजिम थुनामा राख्ने आदेश ग¥यो । तत्काल जेल चलान भएका शेर्पाले ४ महिनामै त्यति ठूलो रकम जम्मा गरेर थुनामुक्त भए । जुन रकमको चाँजोपाँजो दाजु छिरिङले मिलाएका थिए ।
९ करोड रुपैयाँ राजश्वमा जम्मा गर्दा त्यसको स्रोतसमेत खोजेर थप अनुसन्धान गर्नुपर्ने निकाय राजश्व अनुसन्धान विभागले धरौटी बराबरको रकम खातामा जम्मा गर्न लगाएर उनलाई स–सम्मान थुनामुक्त गरेको चर्चा अहिले तस्करबीच नै चल्न थालेको छ । धरौटीबापत जम्मा गरेको रकमको स्रोतको बेवास्ता गर्दै उक्त रुपैयाँ राजश्वले बुझेपछि राजश्वमा समेत तस्करको ठूलै सेटिङ हुने गरेको पुष्टि भएको छ ।
थुनामुक्त भएका शेर्पालाई दाजु छिरिङले पुनः सुन तस्करीमा सक्रिय गराएको उनलाई नजिकबाट चिन्नेहरूको दाबी छ । हाल शेर्पा दाजुभाईले भरिया खटाएर चाईनाको केरुङबाट रसुवा नाका हुँदै सुन तस्करी गर्दै आएका छन् ।
३ साता अगाडी अपराध महाशाखाले पक्राउ गरेको सात किलो सुनमा समेत २५ प्रतिशत लगानी उनको भएको स्रोतको दाबी छ । एक किलो सुन केरुङबाट भारतको दिल्ली पु¥याउँदा तस्करलाई ३ देखी ५ लाख नेपाली फाइदा हुने सुन व्यापारीले दाबी गरेको खबर जनप्रहारमा छ ।
तत्कालीन समयमा सुनसहित कार मालिक तथा चालक तातोपानी ३ का साङ्गे शेर्पा, उनका दाजु मिङ्मार शेर्पा र मेलम्ची–८ की २४ वर्षीया बिमला थापालाई प्रहरीले पक्राउ गरे पनि तस्करका नाइके भने छिरिङ थिए । तत्कालिन समयमा साङ्गेले सबै जिम्मा आफैं लिएर अन्यलाई उन्मुक्ति दिलाउन सफल भएका थिए ।
लिपिङ सिन्धुपाल्चोकका छिरिङ सामान्य परिवारका व्यक्ति हुन् । सुन तस्करी गरेर छिरिङ हाल करोडौं सम्पतिका मालिक बन्न सफल भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij