आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वयम्भूमा गोली हानाहान, गोली हानेर अपहरणकारी पक्राउ : यसरी भयो घटना

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • काठमाडौं । प्रहरीलाई शुक्रबार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गोंगबु, कहिले हलचोक त कहिले सतुंगल बोलाए । तर, आफूले बोलाएको ठाउँमा भेट्न मानेनन् । प्रहरी शुक्रबार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरूले भेट्न मानेनन् । पैसाका साथै प्रहरी पनि लिएर आएको आशंकामा भेट्न डराए । राति ११ बजे भोलि बिहान (शनिबार) भेटेर पैसा लिने र अपहरणकारीलाई रिहा गर्ने सहमति भयो ।

    तिघ्रामा गोली हानेर पक्राउ : बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरू तयार भए । स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जीवन भनिने दुर्गाबहादुर तामाङ पेस्तोल लिएरै गएका थिए । पीडितका आफन्तसँगै पछाडि सादा पोसाकका प्रहरीसमेत देखेपछि उनी फायर गरेर भाग्न खोजेका थिए, तर प्रहरीको काउन्टर फायरमा गोली लागेर उनी ढले । तिघ्रामा गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेलगत्तै वीरबहादुर तामाङ, सचिन खवास र पदमबहादुर तामाङ पक्राउ परेका छन् ।

    अपहरणमा परेका मानदोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ प्रहरीले उद्धार गरेको छ । उनीहरू बौद्ध बस्ने भएकाले त्यहाँबाट अपहरणमा परेको आशंका गरिएको थियो । तर, उनीहरू बालाजुबाट अपहरणमा परेको खुल्यो । अपहरणकारीलाई प्रहरीले खुसिंबी टाउन प्लानिङको भ्याली कोल्ड स्टोर नजिकैबाट मुक्त गराएको छ । पैसा लिनेवित्तिकै उनीहरूलाई रिहा गर्न त्यहाँ ल्याइएको थियो । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले पीडितहरूको सकुशल उद्धार गरी अपहरणकारीहरूलाई पक्राउ गर्न सफल भयो । गोली लागेर घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सल्लाह गर्न बोलाएर अपहरण : महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार अपहरणमा ६ जनाको समूह संलग्न थियो, जसमध्ये पाँचजना नुवाकोट हुन् । मानदोर्जे, कुमार र विशाल व्यापार गरेर पैसा कमाउन थालेको उनीहरूले सुनेका थिए । तीनैजना बिहीबार नुवाकोटबाट फर्कंदै थिए । बालाजुको गंगा हल नजिकै आइपुगेपछि उनीहरूले व्यापारबारे सल्लाह गर्न भन्दै नजिकैको होटलमा लिएर गए । होटलको कोठामा पुर्‍याएपछि हतियार देखाएर बन्धक बनाए । सुरुमा उनीहरूको मोबाइल र पैसा लुटेकोमा बन्धक बनाएर आफन्तलाई फोन गर्न लगाई थप पैसा मागेका थिए । अपहरणमा परेकामध्ये मानदोर्जेसँग पैसा भएकाले उनलाई लक्षित गरी अपहरण गरेका थिए ।

    जेलमै चिनजानपछि आपराधिक कर्ममा : अपहरणकारीहरू आपराधिक पृष्ठभूमिका व्यक्तिहरू भएको अपराध महाशाखा प्रवक्ता प्रहरी एसपी कार्कीले बताए । गोली लागेर घाइते भएका अपहरणका आरोपी दुर्गा लाल नवलपरासीमा डकैतीको मुद्दामा जेल परेका थिए । उनलाई १० वर्ष कैद सजाय भएको थियो । अरु पनि हातहितयार, चोरी र डकैती मुद्दामा जेल परेका व्यक्ति हुन् । ‘अपहरणकारीको ६ जनाको समूह देखिन्छ,’ उनले भने, ‘जेलमै चिनजान भई उनीहरूले यस्तो अपराधको योजना बनाएको जस्तो देखिन्छ ।’ पक्राउ परेकामध्ये जीवन भन्ने दुर्गबहादुर घटनाका नाइके भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij