प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
बीबीसी
असमको नगाँव जिल्लाको कासामारी इलाकामा आइतबार कथित रुपमा ‘गाई चोरी’ गरेको आरोपमा ग्रामीणका भीडले दुई युवकलाई कुटीकुटी हत्या गरेको छ ।
मृत्यु हुनेमा मुस्लिम समूदायका युवक भएको बताइएको छ । दुईको मृत्युपछि क्षेत्रमा तनाव छ ।
पुलिसका अनुसार भीडमा संलग्नहरुका अनुसार दुई युवक कासामारी नजिकै आरक्षित चरागाहबाट गाईको चोरी गरेका थिए ।
नगाँव पुलिस अधिक्षक देवराज उपाध्यायका अनुसार पुलिस घटनास्थल पुग्दा भीडले दुबै युवकलाई लठ्ठीले कुटिरहेका थिए ।
उनले भने, ‘पुलिसले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउँदा पनि गम्भीर रुपमा घाइते दुईको मृत्यु भयो ।’ भीडले उनीहरुलाई डेढ किलोमिटरसम्म अर्थात् नगाँव थाना क्षेत्रको कासीमारीदेखि जाजोरी पुलिस थाना क्षेत्रसम्म पिछा गरेको उनले जानकारी दिए ।
मृत्यु हुनेमा अबू हनिफा र रियाजुद्दीन अली रहेका छन् । दुबैको उमेर २० देखि २२ वर्ष रहेको बताइएको छ ।
असममा गाई चोरेको आरोपमा कुनै भीडले युवकको कुटीकुटी हत्या गरेको यो पहिलो घटना हो ।
मृतकका परिवारले पुलिसमा आरोप दर्ता गरेका छन् । यद्यपी, अहिलेसम्म कोही पनि पक्राउ परेको खबर सार्वजनिक भएको छैन ।
पुलिस अधिक्षकले घटनाको निष्पक्ष जाँचको आश्वासन दिएका छन् ।
पुलिसका अनुसार यो घटनामा अहिलेसम्म गौरक्षक संगठनसँग जोडिएका कसैको पनि नाम सार्वजनिक भएको छैन ।
पुलिसका अनुसार पछिल्ला केही दिनमा नगाँव थानामा गाइ चोरीका विभिन्न आरोप दर्ता गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij