आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

३७ लाखको जग्गा झुक्याउँदै ६ हजार दिएर पास

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६, २०७४



  • गोरखा । अनपढ जग्गाधनीको सोझोपनको फाइदा उठाउँदै भूमाफियाले करिब ३७ लाख मूल्यबराबरको जग्गा ६ हजार दिएर पास गरेका छन् । नागरिकता बनाउने भन्दै सदरमुकाम ल्याएर जग्गा पास गराइएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

    पालुङटार नगरपालिका–८ धुवाँकोटका ५३ वर्षीय घले कुमाललाई नागरिकता बनाउने भन्दै छिमेकी रामशरण अर्यालले जग्गा पासको कागजपत्रमा ल्याप्चे लगाउन लगाएका हुन् । ‘नागरिकता बनाएको भनेर ६ हजार दिए,’ कुमालले भने, ‘जग्गा पास भएको त पत्तै पाइनँ, नागरिकता पनि पाएँ, पैसा पनि पाएँ, साहुले ठूलै गुन लगाए भन्ने सम्झिएँ । तर, म अनपढलाई झुक्याएका रहेछन् ।’

    कुमाललाई फकाएर दुई रोपनी ३ आना जग्गा अर्यालले २ जेठमा मालपोत कार्यालयबाट पास गरेका हुन् । अर्यालले आफ्ना ज्वाइँ तनहुँ भानुमतीका विष्णुकुमार सिग्देलको नाममा जग्गा पास गराएका हुन् । पालुङटार नगरपालिका–८ डाँडागाउँको सडकछेउको कुमालको जग्गा प्रतिरोपनी करिब १६ लाख रुपैयाँ पर्ने स्थानीयको भनाइ छ ।

    कुमालका अनुसार भोट हाल्ने वेला नागरिकता चाहिन्छ भन्दै उनलाई फकाएर अर्यालले सदरमुकाम ल्याएका थिए । नागरिकता नहुँदा कुमाल यसपटकको स्थानीय निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएका थिए । अर्को निर्वाचनमा भोट हाल्नुपर्छ भन्दै अर्यालले फकाएर सदरमुकाम ल्याएको कुमालको भनाइ छ ।

    ‘नागरिकता बनाउन लालपुर्जा पनि चाहिन्छ भनेँ । मैले लालपुर्जा पनि साहुलाई दिएँ,’ उजुरी गर्न सदरमुकाम पुगेका कुमालले भने, ‘कागजपत्र उनले नै मिलाएका थिए ।’

    आफ्नो जग्गा थाहै नपाई अर्काको नाममा पास भएकोबारे घले कुमालले तीन सातापछि मात्र थाहा पाएका हुन् । जग्गा फिर्ता गर्न माग गर्दै कुमालले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

    कुमालको जग्गा तनहुँको भानुमती–८ का ४० वर्षीय विष्णुकुमार सिग्देलको नाममा नामसारी गरिएको मालपोत कार्यालयको अभिलेखमा छ । जग्गा पास गर्दा रामशरण अर्याल, उनका बुबा ईश्वरबहादुर, ज्वाइँ सिग्देललाई साक्षी राखिएको छ ।

    ‘घलेकी कान्छी छोरी प्रमिलालाई पनि साक्षी राखिएको छ । यसमा क–कसको संलग्नता छ भनेर हामी अनुसन्धान गर्दै छाैँ,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘जेठी छोरीलाई तेरो बाउले त जग्गा बेचेछन् है भनेर गाउँलेले सुनाएछन् । लालपुर्जा हेर्दा पनि जग्गा पास भएको देखिएको छ । अनुसन्धान हुँदै छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij