प्रकाशित मिति : बुधबार, असार २८, २०७४
जिल्ला अदालत काठमाडौँले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई १४ वर्षपछि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।
२०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने एक इन्जिनियर दम्पतिको हत्या भएको थियो। १४ वर्ष अघि भएको उक्त हत्या काण्डका अभियुक्त दुई वर्षअघि पक्राउ परेका थिए।
हेमबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्जना श्रेष्ठलाई धारिलो खुकुरी प्रहर गरि हत्या गरेको भन्दै रामेछाप जिल्ला फुलासी -३ घर भइ जोरपाटी बस्ने ३२ वर्षीय प्रमेश चौहान र दोलखा खारे गाविस-३ घर भई सामाखुसी बस्ने ३० वर्षीय मनराज गुरूङलाई अभियोग दावी अनुसार सजाय सुनाएको जिल्ला अदालत काठमाडौँको वेबसाइटमा उल्लेख छ।
सरकारी वकिलले उनीहरुविरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो। जिल्ला न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले आज सर्वस्वसहितको जन्मकैद सुनाएको हो।
चौहान र गुरुङ अहिले केन्द्रीय कारागारको भद्रगोल जेलमा छन्।
यसरी भएको थियो श्रेष्ठ दम्पतिको हत्याः
प्रहरीका अनुसार, २०६९ साल असार ३१ गते बिहान ६ बजेतिर चौहान र गुरुङ श्रेष्ठ दम्पतिलाई नभई घरबेटी गीता खड्कालाई मार्न त्यहाँ पुगेका थिए। श्रेष्ठ दम्पति घरको तल्लो तलामा बस्थे।
खड्काकहाँ पुग्नुअघि उनीहरुको कोठा पार गर्नुपर्थ्यो। उनीहरुले अन्जनालाई नै घरबेटी बोलाइदिन भने। अन्जनाले घरबेटीलाई फोनमा खबरसमेत गरिन्। तर घरबेटी खड्काले आफूले भेट्न नचाहेको बताएपछि सोही जानकारी आगन्तुकलाई गराइ अन्जना चिया बनाउन भान्सा तिर लागिन्।
त्यहीबेला उनीहरुले सुरुमा हेमन्त र त्यसपछि अन्जनालाई खुकुरी प्रहार गरे। सो क्रममा छोरीलाई समेत खुकुरी प्रहार गरेका थिए। श्रीमती श्रेष्ठले आफूहरुलाई चिनेको र आफ्नो पहिचान खुल्ने डरले चौहान र गुरुङले उनीहरुकै हत्या गरेका थिए। उनीहरु घटनाको एक साताअघि पनि डेरा खोज्ने बहानामा सो घरमा पुगेका थिए।
श्रेष्ठ दम्पतिको हत्यापछि उनीहरु खड्कालाई खोज्दै माथिल्लो तलामा पुगे। बाथरुममा लुकेकी खड्कालाई भेट्न सकेनन्। बरु खड्काले बाथरुमबाटै चिच्याएर छिमेकीहरुसँग गुहार मागेपछि उनीहरु त्यहाँबाट बाहिरिएका थिए।
प्रहरीका अनुसार भाग्ने क्रममा उनीहरुले करिब १०० मिटर पर पुगेर हत्यामा प्रयोग भएको खुकुरी फालेका थिए। सामाखुसी चोकको धारामा पुगेर आफ्नो शरीरमा लागेको रगत पखालेका थिए।
यो हत्याकाण्डका मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij