मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

‘हाइ हाइ जमाना फेरिएछ कसको मान्नु भर…’

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७४



  • बर्षातको समय छ। झमझम पानी परिरहेको छ। रातको एक बज्न लागिसक्यो। छिमेकीको सुत्ने सुरसारै छैन बा!

    छतमा ठूलो स्पीकरमा खुब तीजका गीत घन्काइरहेका छन्। मापसेको तालमा चिच्याइरहेका छन्। तीज आउन भने अझै एक महिनै बाँकी छ। एउटाको घरको छतमा बजेको तीज गीतले गाउँभरका मान्छेको निद्रा बिथोलिदिएको छ, तर कसैले उसलाई होहल्ला नगर भन्ने आँट गरेका छैनन्।

    आफूलाई भोलि सबेरै उठ्नु छ। मध्यरात भइसक्यो आँखा खुल्लै छन्। घरिघरि मलाई भने झनक्क रिस उठ्छ। एक मनले गएर भनौं कि क्या हो भन्ने लाग्छ अनि फेरि अर्को मनले सुटुक्क साउती मार्छ– भैगो छोड्दे उनीहरु खुसी मनाइरहेका छन्।

    नाचौँ हामी डिस्कोमा तीज … नाचौँ हामी डिस्कोमा तीज ….
    हे कम अन लेडी…. कम अन…

    मध्य रातमा निद्रा हराम गर्नु नै छ भने पनि अलिक राम्रो गीत त लाउनु नी…. उफ्… उफ्… गर्दै यता कोल्टे फेर्दै उता कोल्टे फेर्दै बिस्तारामा पल्टिनुको अर्को विकल्प छैन। जबरजस्ती निदाउने प्रयास त गरें तर निद्रादेवीले साथ छोडेर गइसकिछन्।

    छिमेकमा बजाएको त्यो गीत सुन्दा केही वर्ष अगाडि हजुरआमाले भनेको एउटा भनाई याद आयो – अहिलेको तीज के तीज, अहिलेका तीजका गीत के गीत…।

    त्यही सोच्दै छु। रातो र हरियो पहिरनको पर्व, पवित्रताको पर्व अनि नृत्यको पर्व तीज। मनका बह पोख्ने, खुसी साटासाट गर्ने पर्व तीज। तर, ‘मनको बह कसैलाई नकह’ भन्ने उखानजस्तै बनेको छ। आमा र भाउजुले बनाएको दरमा होइन मापसेको भरमा तीज मनाउन थालिएको छ।

    ‘हाम्रा बाबाले ल्याइदिएको जामा नलगाई नलगाई फाट्यो बरिलै….’ जस्ता गीतमा होइन, ‘हे कम अन लेडी, कम अन’‘मुन्नी बदनाम हुई डार्लिङ्ग तेरे लिए’ गीतमा उर्फिन्छन्, आजकाल दिदीबहिनीहरु। विदेशीहरु पो तीजले लोभिएर राता चुरो पोते र सारीमा छमछम नाचेको देखिन्छ बरु।

    साँच्ची अहिलेको तीज के तीज अहिलेका तीजका गीत के गीत? यस्तै लाग्न थालेको छ मलाई पनि।

    त्यो जमानामा पल्लाघरे ठूली दिदीले गाएका गीत रेकर्ड गरेर राख्न पाएको भए अहिले कति सुनिन्थ्यो होला बरै। वर्षको एकपटक मात्रै माइत आउँथिन दिदी। त्यो पनि तीजमा मात्र। हाम्रो गाउँमा तीजको अर्को नाम नै ठूली दिदी थियो। गीत गाउन भनेपछि उनलाई कसैले भेट्ने थिएन। गीत त फररररर फुर्थे उनलाई। अनेक विषयमा गीत जुराउथिन्। म सानो हुँदाताका सासु, ससुरा, आमा, बा र श्रीमान्को बारेमा खुब गीत गाउँथिन्। उनको छेउमा बसेर गीत टिप्ने प्रयास गर्थें म पनि।

    सबै त याद छैन तर केही गीतका शब्द भने याद छ अझै पनि। ती शब्दले मन छोएका थिए र आज पनि मानसपटलमा जीवितै छन्ः

    दाजै लाहुर, भाउजु माइत, बाबा आमा एक्लै,
    गाउँका छोरी चेली देख्दा सोचाईं आउला बेग्लै,
    जसरी नि आएस् नानी भन्थिन् बुढी आमा,
    धेरै भयो भेट नभाको भन्थे अरे मामा
    अर्को साल केकस्तो हुनी हो….
    यसपालि जान्छु है माइती देश,
    बुढा… यसपाली जान्छु है माइती देश

    ठूली दिदीले गाएको यो गीत सुनेर माइत जान नपाएकी माथ्लााघरे भाउजुका आँखा रसाएका थिए।

    ती गीत पो तीजका गीत।

    ठूली दिदी! अहिले हामीमाझ तिमी छैनौ तर तिमी र तिमीले गाएका गीतको हरफहरु झलझलि याद आइरहेको छ।

    हाइ हाइ जमाना फेरीएछ कसको मान्नु भर…
    न त छोराको हजुर, न त छोरीको,
    हाइ हाइ जमाना फेरिएछ कसको मान्नु भर
    साना हुञ्जेल मर्छन कि डर ठूला भए’सी मार्छन् की डर,
    हाइ हाइ जमाना फेरिएछ कसको मान्नु भर

    पोहोर साल भक्कानिँदै अनि हिरा जस्तै गहभरी आँसु टलपल पार्दै तिमीले गीत गाएको याद आइरहेको छ, ठुली दिदी। तिम्रा गीत सुनेर धेरैका आँखा रसाएका थिए त्यो बेला। सायद तिमीले धेरैको व्यथा कहिदिएकी थियौ की! अहिले आएर यस्तो लाग्दैछ।

    ठूली दिदी! तिमी अनि तिमीले गाएको गीतको सम्झिदै बिहानको पाँच बज्यो। आँखा खुल्यै रहे। छिमेकीको तडकभडकले आज तिम्रो मौलिक भाकाको याद दिलायो। तिम्रो सम्झनामा पोहोर साल तिमीले गाएको गीत मैलै यसपालिको तीजमा गुनगुनाउने प्रयास गर्नेछु।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij