आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घर कस्तो माटोमाथि बनाउने?

  • प्रकाशित मिति : सोमवार, कार्तिक १३, २०७४



  • घर बनाउनुअघि प्रयोग हुने निर्माण सामाग्रीमा हामी जति चासो दिन्छौँ, घर अड्याउने जमिनको भने ध्यान दिँदैनौँ।

    यसअघिको महाभूकम्पको क्षतिले संरचना बनाउनुअघि माटो परीक्षण गर्नु पर्ने र बलियो माटोमा मात्रै बनाउनु पर्ने पाठ सिकाइसकेको छ।

    कतिपय क्षेत्रमा बलियो ठानिएका घरहरु जगैदेखि गर्ल्याम्म ढले, कतिपय क्षेत्रमा कमजोर ठानिएका घरहरु पनि उस्तै रहे। कतै धेरै घरहरु ढले र चर्किए भने कतिपय क्षेत्रमा सबै घरहरु दुरुस्तै रहे।

    यसको एउटा कारण संरचना अडेको जमिनको प्रभाव पनि रहेको जियोटेक इन्जिनियरहरु बताउँछन्। यदि संरचना बनाउनुअघि जमिनको माटो कमजोर भएमा त्यो संरचना असुरक्षित हुने उनीहरुको भनाइ छ।

    ‘जमिनको माटोको परीक्षणपछि बल्ल घरको निर्माण गर्नुपर्दछ’ जियोटेक इन्जिनियर रमेश कार्की भन्छन्, ‘यदि माटो नै कमजोर छ, भने भूकम्प जाँदा जतिसुकै बलियो भए पनि घर जगैबाट ढलेका उदाहरण छन्।’

    करोडौं रकम खर्चेर घर बनाउँदा थोरै खर्चको लोभमा माटो परीक्षणका लागि कन्जुस्याँई गर्नु मुर्खता हुने इन्जिनियरहरुको भनाइ छ।

    ‘हाम्रोमा अझै घर बनाउनुअघि माटो परीक्षण गर्नुपर्छ भन्ने मान्यता बसीसकेको छैन, तर यो सबैभन्दा महत्वपूर्ण पक्ष हो’ कार्कीले भने।

    जमिनको माटोलाई क्ले, सिल्ट, स्याण्ड, ग्राभेल, बौल्डर आदि भागमा वर्गीकरण गरी जियोटेकहरुले अध्ययन गर्ने गरेका छन्। क्ले सबैभन्दा कमजोर माटो मानिन्छ।

    सामान्यतः कसिलोपन तथा ढुंगा कंक्रिटको मात्रा बढी भएको जमिन घर बनाउनका लागि उत्तम मानिन्छ भने हलुका तथा कालो माटो (क्ले) अनुपयुक्त मानिन्छ।

    यद्यपी संरचनाको जमिनमा पर्ने भारअनुसार माटो उपयुक्त हुनु पर्ने कार्की बताउँछन्।

    ‘यदि ठूलो भवन बनाउने हो भने कालो हलुंगो माटोमाथि सिधै बनाउनु हुँदैन, भोलि सानो कम्पनले पनि त्यस्ता भवन जगैबाट ढल्न सक्छन्’ उनले भने ‘तर सानो घर हो भने त्यही माटोमा बलियो ढुङ्गामाटो हालेर कँसिलो बनाउन सकिन्छ।’

    ठूलो संरचनाका लागि भने माटो परीक्षण गरी पाइलिङसम्मका विधि अपनाउन सकिने इन्जिनियरहरुको सुझाव छ।
    इन्जिनियरहरुका अनुसार वास बोरिङ, पर्क्युसन र रोर्टरी ड्रिलिङ गरी ३ किसिमबाट जमिनको तहगत रूपमा परीक्षणका लागि माटो निकालिन्छ।

    यी विधिमध्ये पनि रोर्टरी ड्रिलिङबाट चट्टानसहित सबै किसिमको माटो निकाल्न सकिने हुँदा यो प्रविधि ठूला भवनहरुका लागि उपर्युक्त हुने कार्कीले बताए। एउटै जमिनमा पनि फरक फरक प्रकारका माटो हुने भएकाले त्यस्तो अवस्थामा तहअनुसार नै माटो परीक्षण गरिने उनले बताए।

    ‘जमिन ड्रिलिङ गर्दै जाँदा कुनै तहमा चट्टानसहितको माटो हुन सक्छ, कुनै तहमा बालुवायुक्त हुन सक्छ त्यसैले माटोको फरकपन थाहा पाउने वित्तिकै परीक्षणका लागि माटो निकाल्छौँ’ कार्कीले भने ‘निकालेको माटो परीक्षणपछि, आवश्यक विधीबाट धेरै हदसम्म संरचनाका लागि उपयुक्त आधार तयार गर्न सक्छौँ।’

    त्यसो त माटो कमजोर भएको ठाउँमा घर नै बनाउन नहुने भन्ने चाहिं होइन। माटो कमजोर देखिए पनि त्यसमा केही तरिकाहरु अवलम्वन गर्ने हो भने धेरै हदसम्म खराबी माटोबाट पर्न सक्ने नोक्सान निराकरण गर्न सकिने कार्की बताउँछन्।

    जमिनको विभिन्न तहमा ‘फिल्ड टेस्ट’ र ‘ल्याब टेस्ट’ गरी घरको जग कति गहिराइसम्म राख्ने वा माटो कमजोर देखिएमा कसरी बलियो बनाउने भन्ने कुरा निर्धारण गरिन्छ।

    त्यसका लागि घरबाट जमिनमा पर्ने सम्भावित भार र एरिया पहिले नै निर्धारण गर्नुपर्ने भन्दै कार्की थप्छन् ‘घरबाट पर्ने सम्भावित भार र एरियाअनुसार ‘ड्रिलिङ’ गर्नुपर्ने गहिराइ निर्क्यौल गरिन्छ त्यसकारण एउटै क्षेत्रफलमा बनाइने १ तले घर र ५ तले घरका लागि ‘ड्रिलिङ’ गर्नुपर्ने गहिराइ फरक पर्न सक्छ।’

    सामान्य घर बनाउने जग्गामा करिब ६/७ मिटरसम्म ‘ड्रिलिङ’ गरेर माटो निकाली ल्याबबाट परीक्षण गर्दा ६० देखि ७० हजार रुपैयाँसम्म लागत लाग्ने उनले बताए। कार्कीका अनुसार ४/५ तला घरका लागि करिब १५ मिटरसम्म ड्रिलिङ गर्नुपर्दछ। यसका लागि साढे २ लाख रुपैयाँसम्म खर्च लाग्छ।

    एउटै जग्गामा पनि माटोको तह फरक पर्न सक्ने भएकाले न्युनतम तीन ठाउँमा ‘ड्रिलिङ’ गरी माटो परीक्षण गर्नु उपयुक्त हुने इन्जिनियरहरुको भनाइ छ।

    कमजोर माटो भए के गर्ने ?
    यदी माटो बलियो भएमा घर बनाउन कुनै समस्या रहेन। तर कमजोर भए जमिनमुनिको माटो बलियो बनाउनका लागि सरल रुपमा नै गुणस्तर सुधार्न सकिन्छ।

    त्यसका लागि जमिनको केही गईराईसम्मको माटो निकालेर इन्जिनियरहरुको सुझावअनुसार नयाँ माटो थपेर खाँद्न सकिन्छ। त्यसका अलवा हात्तिपाइले, र्याफ्ट, पाइलिङजस्ता विभिन्न विधिबाट पनि माटो तथा आधार बलियो बनाउन सकिन्छ।

    हात्तिपाइले विधिमा सामान्यतः खाल्डो खनेर बलियो ढुंगामाटो थपेर सतहलाई बलियो बनाइन्छ। घरको आधार एरियालाई एउटै ढिक्कामा बाँध्नको लागि ‘र्याफ्ट’ फौण्डेसन गरिन्छ। यसका लागि आवश्यक डण्डी हाली सतह ढलान गरिन्छ।

    पाइलिङ दुई तरिकाबाट गरिन्छ। एउटा ‘प्रिकास्ट पाइलिङ’ अर्को ‘कास्ट इन सिटु’। आवश्यक डायमिटरको प्वाल पारेर त्यसमा डण्डी हालेर ढलान गरिनु ‘कास्ट इन सिटु’ पाइलिङ हो भने प्रिकास्ट पाइलिङमा बाहिर नै पाइल तयार गरेर ह्याम्बलिङ गर्दै जमिनमा गाडिन्छ।

    इन्जिनियर कार्की भन्छन् ‘विदेशतिर पाइलिङ’ को प्रयोग निकै हुने गरेको छ, तर यहाँ यो तरिकालाई अझै अवलम्वन गरिएको छैन।’

    यदि माटोलाई बलियो बनाएर संरचना बनाएमा ढुक्क हुन सकिने भएकाले सबैलाई परीक्षण गर्न उनी सुझाव दिन्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij