आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

७०० वर्ष पुरानो पिम्बहाल पोखरी प्राचीन स्वरूपमै पुनर्निर्माण

  • प्रकाशित मिति : आइतवार, पुस २, २०७४



  • काठमाडौं सम्पदा

    ‘पाटनमा एउटा खुला चौर थियो। चौधौं शताब्दीतिर त्यहाँ लाखेहरू नाच्न–खेल्न आउँथे। यही क्रममा एक रात गयबाजे तान्त्रिकले उनीहरूलाई देखे। लाखेहरूलाई तान्त्रिक गयबाजेले आफ्नो वशमा पारे र चौरमा पोखरी बनाउन लगाए। यही पोखरीको नाम हो–पिम्बहाल।’

    सात सय वर्षअघि स्थापित यो पोखरी यसैगरी निर्माण भएको जनविश्वास छ।

    यसको अर्को नाम पनि छ– जगमदु, अर्थात् जग नभएको पोखरी।

    जगमदु पुखु क्षेत्र विकास समितिका अनुसार यो पोखरीको नाम सुरुमा जगमदु नै थियो। समय क्रममा ‘जुगल’ हुँदै पिम्बहाल क्षेत्रमा परेकाले पिम्बाहल पोखरी हुन गयो। स्थानीयले यसलाई काठमाडौं जमलस्थित रानीपोखरी निर्माणको आधार मान्दै आएका छन्।

    यो पोखरीका मुख्य सम्पत्ति हुन्— दुइटा पाटी र कृष्ण मन्दिर।

    २०७२ सालको भुइँचालोमा यी सबै भत्किएका थिए। साढे दुई वर्षपछि यी संरचनाले स्वरुप पाएका छन्।

    पिम्बहाल पुनर्निर्माणमा करिब ६९ लाख रूपैयाँ लागेको यसको संरक्षक जगमदु पुखु क्षेत्र विकास समितिले जनाएको छ। ललितपुर महानगरपालिका, विश्व बैंक, रेन वाटर लगायतको लगानीमा सञ्चालित समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार यसको मर्मत अब पूरा भएको छ।

    पुनर्निर्माण गर्दा पिम्बहाल पोखरीको रूप भने फेरिएको छ। पहिले वरिपरि पर्खाल थिए, जुन हटाएर फलामका बार लगाइएको छ।

    ‘पुनर्निर्माण गर्दा हामीले पोखरी वरपर ढुंगा ओछ्यायौं,’ समितिका अध्यक्ष श्रेष्ठले भने, ‘भत्किएका पाटी बनायौं र मन्दिर वरपरको पर्खाल भत्काएर फलामे बार हालेका छौं। पर्खालले पोखरीको सौन्दर्य छोपेर लुकाएजस्तो भयो। त्यसैले पोखरी देखिने गरी बार हालेका हौं।’

     

    कुनै बेला त यहाँ पर्खाल पनि थिएन। जर्मन चिकित्सक तथा चित्रकार जोन हेनरी एम्ब्रोसले १८५२ मा बनाएको पोखरीको चित्रले यसको पुष्टि गरेको श्रेष्ठले जानकारी दिए। ‘एम्ब्रोसले बनाएको एक चित्रमा यहाँ कुनै बार वा पर्खाल देखिन्न,’ श्रेष्ठले भने, ‘९० सालको भुइँचालोपछि पुनर्निर्माण क्रममा यो पोखरी अर्कै बनोटमा बनाइएको हुन सक्छ।’

    समितिले पुनर्निर्माण गर्ने बेला यसको प्राचीन स्वरूप खोजेको थियो। त्यहीबेला एम्ब्रोसको चित्र भेटियो।

    ‘एम्ब्रोसको चित्र देखेपछि मात्रै पहिले यसको संरचना कस्तो थियो भन्ने प्रस्टियो,’ श्रेष्ठले भने, ‘पुरानो सम्पदालाई किन पुरानै संरचनामा नढाल्ने भनेर फेरि त्यही चित्रका आधारमा बनायौं।’

    पिम्बहाल क्षेत्रको ऐतिहासिक महत्व झल्काउने पोखरी मात्रैले होइन। करिब ६ रोपनी जग्गामा फैलिएको क्षेत्रमा पोखरीबाहेक चण्डेश्वरी मन्दिर र अशोक स्तुप पनि छन्।

    पोखरीको उत्तरतर्फ रहेको चण्डेश्वरी मन्दिर सिद्धिनरसिंह मल्ल पालामा सन् १६६३ मा बनेको हो। यो मन्दिर निर्माणमा पनि तान्त्रिक गयबाजेको कथा जोडिएको किम्बदन्ती छ।

    श्रेष्ठका अनुसार उक्त किम्बदन्ती यस्तो छ– एकपटक गयबाजे पाटनको ईखाल्खुमा श्री हरिसिद्धिमाई नाच हेर्न पुगेका थिए। नाच हेरिरहेका बेला उनले एक जना केटी देखे, जो अरूभन्दा निकै अलग थिइन्।

    उनमा कुनै ‘शक्ति’ थियो। उनी भिडमा अरू मान्छेले आफ्नो नाच छेकिदियो भने त्यहीअनुसार उचाइ बढाएर अग्ली हुन्थिन्। नछेकिएका बेला सामान्य उचाइमै फर्किन्थिन्।

    गयबाजे तान्त्रिकले त्यस्तो शक्ति भएको त कुनै मानव हुनै सक्दैन, कुनै देवीदेवता मान्छेको रूपमा आएको भन्ठाने। ती केटीलाई उनले पिम्बहाल लिएर आए। उनी देवी नै रहिछन्, बनेपाबाट आएकी चण्डेश्वरी।

    देवीले नै त्यो कुरा स्वीकारेपछि गयबाजेले चण्डेश्वरीलाई त्यहीँ बिराजमान हुन आग्रह गरे। त्यसपछि उनी बसेको ठाउँमा नै चण्डेश्वरी मन्दिर स्थापना भयो।

    ‘मन्दिरमा रहेका दुईवटा खम्बाको कथा पनि यसैमा जोडिएको छ,’ श्रेष्ठले भने, ‘यहाँको कथाअनुसार गयबाजेलाई देवी विराजमान गराए पनि उनी भाग्लिन् भन्ने डर थियो। त्यसैले, त्यहाँ दुइटा खम्बा गाडिए, जसमा शनिश्चर र भिमसेन सुरक्षा दिएर बसे।’

     

    ‘बनेपाबाट आएकी देवी चण्डेश्वरी’ को यो मन्दिर पनि भुइँचालोले भत्काएको थियो। ‘माथिल्लो छानो र त्यसको गजुर पूरै क्षति भएको थियो,’ श्रेष्ठले भने, ‘यसका कलात्मक काठहरू पनि मक्किएकाले सबै फेरिएको छ।’

    यसको सम्पूर्ण काम सक्न करिब ३० लाख रूपैयाँ खर्च भएको उनले जानकारी दिए।

    उत्तरमा चण्डेश्वरी देवी ‘विराजमान’ गराएको पिम्बहाल पोखरीले दक्षिणमा अशोक स्तुप पाएको छ। यो स्तुप त पोखरीभन्दा पुरानो भएको श्रेष्ठले बताए। वरिपरि चारवटा चैत्यले घेरिएको स्तुप करिब २३०० वर्ष पुरानो हो।

    श्रेष्ठका अनुसार पाटनका मान्छे पहिले–पहिले नमोबुद्ध, स्वयम्भु, बाडेगाउँ र बौद्धनाथसम्म गएर दिवंगत आफन्त वा साथीभाइका सम्झनामा बत्ती बाल्थे। हिँडेरै पुग्नुपर्ने भएकाले सबैका निम्ति यो सहज थिएन।

    त्यसैले यी चारै स्तुपको प्रतीक चैत्य निर्माण गरिएको हो। यी चार चैत्य पूजा आराधना गर्दा चार स्तुप पुगे सरह हुने धार्मिक मान्यता छ।

    भुइँचालोले यो मन्दिरमा खासै क्षति पुर्याएको छैन।

     

    ‘नेपाल सम्बत् ४७० मा बंगालका सुल्तान शमशुद्धीनले तत्कालीन नेपाः मण्डलमा आक्रमण गर्दा भने यसमा क्षति पुगेकोे शिलालेखमा उल्लेख छ,’ श्रेष्ठले भने, ‘क्षति भएको नौ वर्षपछि नेपाल सम्बत् ४७९ मा त्यस क्षेत्रका मेघपाल वर्माले यसको जिर्णोद्धार गरेका थिए। त्यही बेला सम्राट अशोककी छोरी चारुमतिले यो स्तुप स्थापना गरेको भन्ने पनि शिलालेखमा उल्लेख छ।’

    ऐतिहासिक महत्वको पिम्बहाल पोखरी क्षेत्र जगेर्ना सूचीमा परेको धेरै भएको छैन। श्रेष्ठका अनुसार २०२४ सालतिर पूरै जलकुम्भीले ढाकेपछि पोखरी लगभग चौरमा परिणत भइसकेको थियो। ‘सरकारले त्यो बेला महत्व नबुझी यो ठाउँलाई व्यापारिक स्थल बनाउने प्रस्ताव राखेको थियो,’ उनले भने, ‘पिम्बहाल क्षेत्र विकासकै आधार मानिने पोखरी जोगाउनुपर्छ भन्दै स्थानीय नै कस्सिए।’

    स्थानीयले नै पोखरी बनाउने सहमतिपछि आज आएर यसले प्राचीन स्वरूप पाएको श्रेष्ठ बताउँछन्। अब यो क्षेत्र वरपरै सोलार बत्ती हाल्ने समितिको योजना छ भने स्थानीयले बेला–बेला यसको सरसफाइ पनि गर्दै आएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij