आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४० हजार पाउन्ड पाउने लोभमा २ युवतीले डुबाए ५१ लाख

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • फेसबुकमा चिनेको साथीबाट ४० हजार पाउण्ड उपहार पाउने लोभले २ युवतीको ५१ लाख रुपैँया डुबेको छ।

    आफूहरू ठगिएको भन्दै युवतीहरू प्रहरीमा उजुरी गर्न आएपछि यो घटनाबाहिर आएको हो।

    काठमाडौंको एक कलेज स्नातक पढिरहेकी पर्वतको उदा– ५ की पवी क्षेत्री दुई महिना अघि एक बेलायतीसँग फेसबुक साथी बनिन्।

    आफूलाई ब्राइन बताउने ती बेलायतीसँग च्याटबाट पवीको कुराकानी हुन थाल्यो। उनीहरु नजिकिए।

    केही समयपछि ब्राइनले आफू बेलायतको धनाढ्य भएको र ४० हजार पाउन्ड पवीलाई दिने आश्वासन दिए।

    उनको आश्वासनले पवी मख्ख परिन्।

    ब्राइनले आश्वासन दिएको केही दिनपछि पछि एउटा कुरियरको फोटो र त्यसको नम्बर पनि म्यासेन्जरमा पवीलाई पठाए।

    यति ठूलो रकम बैंकमार्फत् पठाउँदा झन्झट हुने भएकाले आफूले कुरियर गरेर पठाएको ब्राइन तर्क थियो।

    ब्राइनले सो सन्देश पठाएको एक सातापछि पवीलाई भारतीय नम्बरबाट फोन आयो– तपाईं पार्सल भारत आइपुगेको छ। यसलाई नेपाल पठाउन भन्सार तिर्नुपर्छ। यति भनेपछि फोन कट्यो।

    पवीले सो नम्बरमा कल ब्याक गरिन्। भन्सार तिर्ने पैसा कति, कहाँ, कसलाई र कहिले दिने भनेर सोधिन्।

    उताबाट जवाफ आयो–बुढामाया साङथुङ भन्ने एक जना हाम्रो एजेन्ट छ, उसैलाई दिनु उसले हामीलाई पठाउँछ।

    साढे ५७ लाखभन्दा बढी रुपैयाँ पाउने लोभमा पवीले पहिलो पटक ४५ हजार रुपैयाँ आइएमईमार्फत् बुढामाया साङथुङको नाममा पठाइन्।

    अर्को साता पवीलाई फेरि फोन आयो– हामीले एक्सरे मेसिनमा हेर्यौं। कुरियरभित्र ४० हजार पाउण्ड रकम रहेछ। ४५ हजारले भन्सार पुग्दैन थप पैसा पठाउनु पर्यो। पवीले घरमा फोन गरेर आफू अष्टेलिया जान लागेकाले पैसा चाहिएको बताइन्।  घरकाले पठाइदिएको २६ लाख रुपैयाँ उनले हुण्डीमार्फत् भारत पठाइदिइन्।

    उताबाट फेरि फोन आयो– भन्सार तिर्ने रकम अझै पुगेन, थप पैसा पठाऊ।

    पवीले सबै कुरा मिल्ने साथी लक्ष्मीदेवी चपाईंलाई सुनाइन्। उनले ४० हजार पाउन्ड आए आधाआधा बाँड्ने सर्तमा लक्ष्मीलाई थप पैसा दिन राजी गरिन्।

    पवीकै गाउँकी लक्ष्मीले अष्ट्रेलिया जाने भन्दै घरबाट पैसा मागिन् र उनीहरुले थप २५ लाख रुपैयाँ हुन्डीबाट भारत पठाए।

    ५१ लाख भारत पठाएको झन्डै दुई साता बित्दा पनि पवीका पाउन्ड भरिएको कुनै पार्सल आएन।

    त्यसपछि उनीहरु झस्किए– कतै हामी ठगिन त ठगिएनौं?

    त्यतिञ्जेल ब्राइनले फेसबुक बन्द गरिसकेका थिए। भारतबाट आउने फोन पनि स्विच अफ भन्न थालेको थियो।

    आफूहरु ठगिएको निष्कर्षमा पुगेपछि पवी र लक्ष्मी उजुरी बोकेर गत साता महानगरीय प्रहरी परिसर काठमाडौंमा आए।

    भर्खर ब्याचलरमा पढिरहेका र अष्ट्रेलिया जान भन्दै घरपरिवारबाट ऋण निकालेर पठाएको रकम डुबेका उनीहरु अहिले दिनदिनै प्रहरी परिसरमा सोध्छन्– हाम्रो उजुरीमा केही प्रगति भयो?

    ‘दिन बिराएर ती दुई जना केही प्रगति भयो कि भन्दै आउँछन् रकम खाने भागिसके,’ परिसरका प्रवक्ता डिएसपी मोहन थापाले सेतोपाटीसँग भने, ‘तर रकम भारत हुण्डी गरी पठाउनेलाई भने पक्राउ गरेका छौं, उनीहरुको यो ठगीसँग कुनै कुरा मिल्दैन हामी अनुसन्धान गर्दैछौं।’

    डीएसपी थापाका अनुसार पवी र लक्ष्मीले ४ पटक ४६ लाख हुन्डीमार्फत पठाएका थिए भने बाँकी रकम आइएमईमार्फत् बुझाएका थिए।

    हुन्डीमार्फत उनीहरुको रकम पठाउने जयराम कार्की र कृष्णगोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

    ‘उनीहरूले भारतमा नारायण अग्रवाल र राकेशकुमार गुप्तालाई पैसा पठाएको अनुसन्धानबाट देखियो, अग्रवाल अहिले अमेरिका छन् भन्नेछ, हामी त्योपनि अनुसन्धान गर्दै छौ,’ डिएसपी थापाले भने।

    उनका अनुसार पक्राउ परेकाहरु लामो समयदेखि हुन्डीका कारोबारी रहेको प्रहरीलाई सूचना थियो।

    ‘हामीले प्रमाण जुटाउन सकेका थिएनौ, ठगिने युवतीले उनीहरुको नाम पोलेपछि हामीलाई पक्राउ गर्न बाटो खुल्यो,’ डिएसपी थापाले भने।

    पक्राउ परेका दुई जनाबाट स्रोत नखुलेको १५ लाख ६२ हजार ९ सय २० रुपैया बरामद भएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij