प्रकाशित मिति : शनिबार, माघ १२, २०७५
अस्ट्रेलियाबाट अवैध हुण्डी सञ्चालन गर्दै आएका एक गिरोहलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
उनलाई प्रहरीले काठमाडौंको रन्जना आकेएडबाट चार लाख नगदसहित बिहिबार राति पक्राउ गरेको हो।
अस्ट्रेलियाको सिड्नीलाई मुख्य थलो बनाएर फेसबुक र भाइबरमार्फत् पैसा उठाउने गिरोहका रूपमा रहेका काठमाडौंका सन्तोष नेउपानेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
उनलाई हाल हनुमानढोका राखिएको छ भने वैदेशिक मुद्रा ओसारपसारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।
सिड्नीबाट सन्तोष र अर्को मैनाली हुण्डीवालले एप्सनै बनाएर ह्वाट्स एपमार्फत् करोडौं रुपैयाँ पैसा नेपाल पठाउने गरेका थिए।
प्रहरीले लामो समयपछिको अनुसन्धानपछि नेउपानेलाई पक्राउ गर्न सफल भएको हो। अस्ट्रेलियामा बसेर खुलेआम सामाजिक सन्जालमार्फत् हुण्डी चलाउँदै आएकाहरूलाई प्रहरीले निगरानी थालेको छ।
फेसबुक ,भाइबर र ह्वाट्स एपमार्फत् पैसा उठाउने र नेपालमा मान्छे राखेर हुण्डी चलाउँदै आएका करिब दुई दर्जन व्यापारी तथा अन्य हुण्डीवालालाई प्रहरीले निगरानीमा राख्दै आएको छ।
‘हामीले अवैध हुण्डीलाई सूक्ष्म अध्ययन गरिरहेको र यसै क्रममा बिहीवार नेउपाने पक्राउ पर्न सफल भए’, काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अशोक सिंहले भने,‘हुण्डीको अवैध धन्दाका बारेमा हामीले गहन रूपमा छानबिन गरिरहेका छौं।’
अस्ट्रेलियाबाट दिनहुँ करिब तीनदेखि चार करोड रुपैयाँ अवैध रूपमा नेपाल भित्रिने गर्दछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij