प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६
शिशु तथा मातृमृत्युदर घटाउन तिनपाटन गाउँपालिकाले सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । गाउँपालिकाले २ हजार २ सय र नेपाल सरकारले दिने २ हजार ८ रुपैयाँ गरी पाँचहजार रुपैंयाँ भत्ता दिन शुरु गरेको हो ।
गर्भावस्थामा ४ पटकसम्म गर्भ जाँच गरी स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले बताउनुभयो । चालु आर्थिक वर्ष (०७६/०७७) बाट भत्ता प्रदान गर्न थालिएको उहाँले बताउनुभयो । अस्पतालमा नै सुत्केरी गराई आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउन प्रोत्साहनको कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक राम वेचन शाहका अनुसार गर्भवती हुँदा गर्नुपर्ने नियमित स्वास्थ्य जाँच सूचीकृत स्वास्थ्य संस्थामा गरेको, विभिन्न खोप लगाएको, आइरन चक्की र जुकाको औषधी खाएकोे तथा बच्चा जन्मिसकेपछि नियमित स्वास्थ्य जाँच गराएर ३५ दिनभित्र जन्म दर्ता समेत गराएका महिलालाई उक्त भत्ता दिन थालिएको हो ।
यस्तै गाउँपालिकाले गर्भवती तथा दुईवर्ष मुिनका बालबालिका भएका घरमा रिफ्लेक्ट साईनवोर्ड राखिएको जनाएको छ । सुत्केरी तथा गर्भवती महिलाका लागि स्वास्थ्य चौकी जान आउन गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गर्ने गरि चालु वर्षको कार्यक्रम ल्याएको छ ।
तिनपाटन गाउँपालिका वडा नम्बर–८, स्थित बाहुनतिल्पुङ स्वास्थ्य चौकीका ईन्चार्ज इन्द्रबहादुर दुलालले पछिल्लो समय महिला अस्पतालमा नै आएर सुत्केरी हुने गरेको बताउनुभयो । राजधानी दैनिक
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij