सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बिहेअघि यौन सम्बन्ध राख्न नपाइने कानुन बनाउने तयारीपछि व्यापाक विरोध

  • प्रकाशित मिति : बुधबार, अशोज ८, २०७६



  • जार्कता (बीबीसी) । इन्डोनेशियाको संसद्‌बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ। प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको चर्को विरोध भएको छ।

    उक्त मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भयो। मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मान्नेछ।

    तत्कालका लागि उक्त मस्यौदा कानुनलाई पारित गर्ने विषय पछि सरेको छ। तर प्रदर्शनकारीहरू त्यो संसद्‌बाट अन्ततः पारित हुने चिन्तामा छन्।

    प्रस्तावित अपराध संहितामा निम्न विषय छन्ः

    विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध हुनेछ र त्यसो गरेमा एक वर्ष जेल सजाय हुन सक्नेछ।

    विवाह नगरी सँगै बसेमा छ महिनाको जेल सजाय हुन सक्नेछ।

    राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झण्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन।

    चिकित्सकीय कारण वा बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ।

    संसद्‌मा मङ्गलवार उक्त प्रस्तावित कानुनमा मतदान हुने योजना थियो। तर राष्ट्रपति जोको विडोडोले त्यसमा थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रवारका लागि स्थागित गरिदिए।

    मतदान सारिएको भए पनि इन्डोनेशियालीहरू उक्त कानुन संसद्‌बाट पारित हुने आशङ्का व्यक्त गर्छन्। देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने एउटा कानुन पारित गरिएकाले पनि मानिसहरू आक्रोशित छन्।

    हजारौँ मानिसहरूले देशका विभिन्न सहरमा सडकमा भेला भएर प्रदर्शन गरे। तिनमा विद्यार्थीहरूको सङ्ख्या ठूलो थियो।

    संसद्‍का सभामुखलाई भेट्ने माग राखेर जकार्तास्थित संसद् भवनबाहिर प्रदर्शन गरिरहेका मानिसहरूको प्रहरीसँग भिडन्त भयो।

    प्रदर्शनकारीहरूले ढुङ्गा हानेपछि प्रतिकार गर्दै प्रहरीले पनि अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्‍यो।

    एउटी महिलाले ‘मेरो अङ्गमा सरकारको स्वामित्व छैन’ भन्ने नारा भएको पोस्टर बोकेकी थिइन्।

    योग्याकार्ता, मकास्सर तथा अन्य स्थानमा दोस्रो दिन पनि प्रदर्शन जारी छ।

    ‘भ्रष्टाचार नियन्त्रण गर्ने निकायसम्बन्धी नयाँ कानुन जनताको हितमा नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्‌तिर गएर विरोध गर्दैछौँ,’ पश्चिम जाभाका एक २१ वर्षीय विद्यार्थीले सामाचारसंस्था रोएटर्सलाई भने।

    जकार्तामा सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरीलाई खटाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij