प्रकाशित मिति : बुधबार, अशोज १५, २०७६
रोजगारको लागि भारत गएका नेपालीहरू दसैं तिहार मनाउन घर फर्किंदा सीमा क्षेत्रमा लुटिन थालेका छन्।
पर्व नजिकिँदै जाँदा रोजगारीका लागि भारत पुगेका नेपालीहरू घर फर्कन थालेका छन्।
विगतदेखि नै घर फर्कने क्रममा भारतीय भूमिमा लुटिँदै आएका छन्। यसवर्ष पनि दसैं मनाउन घर फर्कंर्दै गर्दा दुई जना व्यक्ति भारतीय भूमिमा लुटिएका छन्।
भारतमा रोजगारी गरी नेपाल आउँदै गरेका नवलपरासी डेढगाउँका ४१ वर्षीया हरिबहादुर विश्वकर्मा गुल्मी रिडीका ४९ वर्षीय वीरेन्द्रप्रसाद पाण्डे लुटिएका हुन्। उत्तर प्रदेश परिवहनमा आएका उनीहरू गोरखपुरसम्म राम्रै आएका थिए। गोरखपुरबाट यता लागेपछि गोरखपुर सुनौली सडकखण्डबीचमा उनीहरू लुटिएका हुन्।
यही असोज १३ गते राति लुटिएका उनीहरूबाट १ लाख तीस हजार भारतीय रुपैयाँ लुटिएको छ। हरिबहादुरबाट ३० हजार र वीरेन्द्रप्रसाद पाण्डेको एक लाख भारतीय रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ।
परिवारसँग खुसीसाथ दसैं मनाउने भन्दै फर्किएका उनीहरूको पैसासबै लुटिएको प्रहरीले जनाएको छ।
अर्धचेत अवस्थामा प्रहरी कार्यालय आएका उनीहरूले आफूहरूलाई पहिले चिया बिस्कुट खान दिएको र त्यसपछि औषधि सुघाएर पैसा लुटेको बताउँछन्।
वर्षभरि परिवारबाट टाढा बसेर दु:ख गरेको सबै रकम लुटिएपछि विक्षिप्त भएका विश्वकर्मा राम्रोसँग बोल्न पनि नसक्ने भएका छन्।
अघिल्लो वर्ष पनि दसैंतिहारको एकमहिनाको अवधिमा १४ जना नेपाली भारतीय भूमिमा लुटिएका थिए। उनीहरूको साथबाट ५ लाख भारतीय रुपैयाँ लुटिएको प्रहरी तथ्यांक छ।
दसैंको लागि घर फर्किने नेपालीहरू यो वर्ष पनि लुटिन सुरू भएको छ।
हरेक वर्ष लाखौं रुपैयाँसहित नेपाली लुटिए पनि भारतीय भूमिमा लुटपाट भएकाले नेपाल प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सक्दैन। भारतीय प्रहरीले यस्ता घटना रोक्नमा खासै प्रयास गर्दैन।
बेलाबखत हुने दुई देशका सुरक्षा निकायबीचको बैठकमा समेत सीमाक्षेत्रमा नेपाली लुटिने गरेको विषय उठ्ने गर्छन्। तर यसको समाधानको लागि सुरक्षा निकायले सर्वसाधारणलाई सचेत बनाउन सकेको छैन। कतिपय घटनामा भारतीय भूमिमा पुगेर पनि नेपाली मूलका नागरिकबाट नै नेपाली लुटिने गरेका छन्।
चाडपर्वको समयमा हरेकवर्ष सीमाक्षेत्रमा गरिने सचेतनाका कार्यक्रम पनि त्यति प्रभावकारी बन्न सकेका छैनन्। बेलहियाबाट भारतका विभिन्न स्थानमा जाने र भारतबाट सुनौली आउन सवारी साधनमा अपरिचितले दिएको कुनै पनि खानेकुरा नखान स्टीकर टाँस गरी सूचना गर्ने गरिए पनि त्यो प्रभावकारी नभएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक कमल बेल्बासेले जानकारी दिए ।
‘भारतबाट नेपाल चल्ने मैत्री गाडीहरूमा यस्तो समस्या खासै आएको छैन, तर उत्तरप्रदेश परिवहन भनेर चल्ने भारतीय सरकारी गाडीहरूमा थकानले निदाउने कारण लुटिएको पाइएको छ,’ बेल्बासेले भने ।
बेल्बासका अनुसार गोरखपुरदेखि उताभन्दा त्यसयता धेरै लुटिने गरेको बताए।
‘गोरखपुर आइपुगेपछि पनि नेपाली मूलका भारतीयहरूले उनीहरूको सोझोपनको फाइदा उठाएर लुट्ने गरेका छन्, थकाई लागेको भए आराम गरेर जान भन्ने, चियाबिस्कुटको अफर गर्ने र त्यसैमा नशालु पदार्थ मिसाएर खान दिइ लुट्दै आएका छन्।’
प्रहरीका अनुसार लुटपाटका घटना भारतको गोरखपुर र सुनौलीबीचमा बढी हुने गरेको छ।
भारतीय भूमिमा लुटिने भएपछि प्रहरीले लुटिसकेपछि बेहोस भएर वा विक्षिप्त भएर आउनेलाई अस्पताल लगेर उपचार गराउने, परिवारलाई खबर गर्ने र परिवार सम्पर्कमा नआए विभिन्न संघसंस्थाको सहकार्यमा उपचार खर्च, खाना खर्च र घरजान भाडा उपलब्ध गराउने गरेको छ।
पर्वका बेला सीमा क्षेत्रमा अत्यधिक भीडभाड हुने गर्छ। यसैको मौकामा आपराधिक गतिविधि गर्ने सक्रिय हुने गरेका छन्। व्यक्ति आफैं सचेत हुने र अपरिचितसँग सम्बन्ध नगाँस्ने तथा साथमा धेरै पैसा बोकेर नहिँड्ने हो भने घटनामा कमी ल्याउन सकिन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij