प्रकाशित मिति : बिहिबार, अशोज १६, २०७६
काठमाडौँ । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन ।
“अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण भारतको उत्तरप्रदेशमा भारी वर्षा भइरहेको छ, त्यसकै असर नेपालमा बढ्न थालेको छ ।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको गुजरात र अरब सागरमा रहेको न्यूनचापीय रेखा डिप्रेसनमा परिवर्तित भएको छ । भारतको उत्तरप्रदेशमा रहेको न्यूनचापीय मौसम प्रणालीको असर नेपालको मध्य र पूर्वी भेगमा परिरहेको छ ।
यस प्रणालीकै कारण बङ्गालको खाडी र अरब सागर दुवैतिरको जलवाष्पयुक्त वायु तानिएर नेपालतर्फ आउनेक्रम जारी रहेकैले अझै एकसाता वर्षा लम्बिने मौसमविद् श्रेष्ठले बताउनुभयो ।
केही दिनसम्म बदलीको अवस्था नै रहने अवस्था हुनेछ । बढीजसो यसपालिको वर्षाको प्रभाव प्रदेश ३ का साथै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहनेछ । मध्य र पश्चिमका केही भूभागमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij