प्रकाशित मिति : शुक्रबार, अशोज १७, २०७६
दसैंको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ। स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दसैं खल्लो हुने भएको छ।
जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ।
चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताए। नेपालीको महान् पर्व दसैंमा चामल नपुगे पनि तिहारसम्ममा पुर्याउने लक्ष्य लिइएको उनले जानकारी दिए।
गत असारको अन्तिम सातादेखि दक्षिणी क्षेत्रमा रहेका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामल नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धाँमीले बताए। उनका अनुसार स्थानीय सरकारले स्थल मार्गबाट चामल ढुवानी गर्ने भने पनि नेपाल खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गर्दा यो दशैँमा चामल नपुगेको हो।
यो वर्ष चामल नहुँदा दसैं खल्लो हुने निश्चित भएको स्थानीयवासी भक्तराज ऐडीले गुनासो गरे। अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भए पनि चामल नहुँदा त्यहाँका स्थानीयवासीले यो वर्षको दसैं भातविना मनाउने भएका छन्।
दसैं सम्ममा चामल पुग्छ भनेर कर्मचारी तयारी अवस्था रहे पनि चामल नपुग्ने निश्चित भएपछि दुई वटा डिपोका कर्मचारी पनि दसैं मनाउन घर गएका छन्। ठेकेदारले यही असोज ८ गते टेण्डर प्रक्रिया सम्झौता गरी तिहारसम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको संस्थान प्रमुख विष्टले बताए।
खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेको भन्दै दसैंमा चामल पु¥याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार यस वर्षको टेण्डर प्रक्रिया नै ढिला भएकाले कसैलाई पनि यस वर्षको दसैंमा चामल पु¥याउन सकिएको छैन। –दाने बोहरा
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij