प्रकाशित मिति : बुधबार, पुस २, २०७६
काठमाडौँ । स्वर्गीय कलाकार आनन्द थापाको बुधबार मध्यान्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोराहरु जय र शंकर थापाले दागबत्ती दिए ।
भक्तपुरको झौखलेमा मंगलबार साँझ ७ः३० मा थापाको निधन भएको थियो । विगत दुई वर्षदेखि प्यारालाइसबाट थलिएका थापाको ८० वर्षको उमेरमा निधन भएको हो ।
उनको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिनको १० बजे पशुपति आर्यघाट पुर्याइएको थियो ।
जहाँ उनलाई श्रद्धाञ्जली दिन कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, उत्तम केसी, अशोक शर्मा, दयाराम दाहाल, प्रदीप उदय, दिनेश डिसी, सुवास गजुरेल, लय संग्रौला, गीता नेपाल, पुस्कर लामा, बिमला केसी, रेजिना उप्रेतीलगायतका कलाकारकर्मी र शुभेच्छुक पुगेका थिए ।
करिब २ घन्टा श्रद्धाञ्जली कार्यक्रमपछि उनको पार्थिक शरिरको अन्त्येष्टि गरिएको थियो । थापाको श्रीमती र ३ छोरा रहेका छन् ।
को हुन् थापा ?
थापा नेपाली कलाक्षेत्रका वरिष्ठ कलाकार हुन् । रंगमञ्च, टेलिचलचित्र र चलचित्र अभिनयमा क्रियाशील उनी हास्यकलाकारको रुपमा पनि चिनिन्थे ।
‘मनको बाँध’बाट चलचित्र अभिनयमा होमिएका थापा त्यो भन्दा अगाडि नाटक र रंगमञ्चमा क्रियाशील थिए । कुमारी, कान्छी, मायाप्रिती, अचानक, राज, प्लान, वरदानलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेका थापाले करिब ३ दर्जन बढी टेलिचलचित्र अभिनय गरेका छन् ।
गाईजात्रा महोत्सवमा हास्यब्यङ्ग्य प्रस्तुति समेत दिने थापाले केही नाटक तथा टेलिफिल्म लेखन निर्देशन पनि गरेका छन् ।
कमैलाई मात्र थाहा होला उनी गायक पनि थिए । उनले गाएको ‘मेरो दश रुपैयाँ किलोमा आलु बिकेन’ प्यारोडी गीत एक समय निकै चर्चामा थियो ।
केही म्युजिक भिडियो समेत अभिनय गरेका थापाले पछिल्लो समय कमेडी सिरियल ‘घ्याम्पो भित्रको खिचडी’ आफ्नै अभिनय, लेखन र निर्देशनमा तयार पारेका थिए । जसको नेपाल टेलिभिजनबाट प्रसारण गराउने उनको सपना थियो ।
प्रसारणको तारतम्य मिलाउन नेपाल टेलिभिजन र त्यहाँको कर्मचारीको धेरै चक्कर लगाएका उनी अन्ततः सिरियल थन्काएर बस्न बाध्य भए । यद्यपि सोको प्रशासणका लागि अझै पनि प्रयासरत उनको त्यो सपना पूरा नहुँदै निधन हुन पुग्यो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij