प्रकाशित मिति : आइतवार, चैत्र २, २०७६
काठमाडौँ । कोटेश्वर–कलंकी ८ लेनको सडक खण्डमा लेन प्रयोगको नयाँ नियम लागू भएको छ ।
आइतबारदेखि यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने द्रुत लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागू गरिएको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बीच संयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका छन् ।
सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले बोल्दै यस व्यवहारिक र रचनात्मक कार्यलाई अगाडि बढाउन उत्साहवर्द्धन गर्दै आगामी दिनमा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायत प्रहरी अधिकृत, यातायात व्यवसायीहरू उपस्थिती रहेको थिए । ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति समेत दिएको थियो ।
सचेतनाको लागि प्ले कार्ड सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्वारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भने –‘सडक सुरक्षा र त्यसको प्रयोगमा सम्बन्धमा स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूलाई जिम्मेवारपूर्ण बनाई यस नियमलाई कडाईका साथ पालनाका लागी पर्याप्त ट्राफिक प्रहरीहरू खटाइएको छ ।’
केही समय पश्चात नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसय सम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए ।
देशकै पहिलो ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले उक्त लेन अनुशासनलाई कडाईका साथ लागू गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना भएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको जानकारी श्रेष्ठले दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij