प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६
सप्तरी । कोरोना भाइरसलाई भगाउन पूजापाठ तथा देवता खेलाउने क्रम सप्तरीमा बढेको छ । बुधबार मात्रै जिल्लाको दुई स्थानीय तहमा सयौं भिड एकत्रित गरेर पूजापाठ गरिएको छ ।
जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडानम्बर ५ स्थित दुईवटा मन्दिरमा देउता खेलाइएको पाइएको छ ।
कोरोना भाइरसबाट बच्न भन्दै यो वडाको २ वटा भगवती मन्दिरमा सयौंको संख्यामा जम्मा भएर देउता खेलाइएको स्थानीय मनोज मेहताले बताए ।
उनका अनुसार एउटा मन्दिरमा एकजना पुरुष र अर्काे मन्दिरमा एकजना महिलामा देउता आएको विश्वासमा सयौं व्यक्ति जम्मा भएका थिए ।
सरकारले लक डाउन गर्दै सर्वसाधारणलाई घरबाहिरै बस्न आग्रह गरेको अवस्थामा यत्रो भिड जम्मा भएपछि प्रहरीलाई बोलाएर खाली गराइएको मेहताको भनाइ छ ।
मेहताले देउता आएका व्यक्तिलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि अन्य व्यक्तिहरु स्वतःस्फूर्त आ-आफ्नो घर गएको बताए ।
यस्तै, जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिकामा कोरोना भाग्ने अपेक्षामा महिलाहरु एकै ठाउँमा भेला भइ पूजापाठ गरेका छन् ।
गाउँपालिकाको वडानम्बर २ इटहर्बामा भिडकाबीच स्थानीयहरुले दिहबार थान मन्दिरमा पूजापाठ गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij