सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काेराेनाका कारण रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

  • प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६



  • काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि बुधबार क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै आज(बुधबार) क्षमा पूजा गरिएको सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

    कोरोना भाइरसको सङ्क्रमणको खतरा अन्त्य भएपछि स्वस्ति शान्तिसहित कोटीहोम गर्ने समितिले जनाएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको जात्रा १ हजार १ सय ४० वर्ष अघि शुरु भएको बताइन्छ । अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने यात्रा असनसम्म लैजाने गरिन्थ्यो ।

    नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीका दिन कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनसम्म तान्ने गरिन्थ्यो । एकादशीका दिन लगनको पीपलबोटमा सेतोमच्छेन्द्रनाथका आमालाई तीनपटक घुमाउने परम्परा थियो । द्वादशीका दिन लगनबाट मच्छेन्द्रबहाल ल्याई सिन्दूर जात्रा गरेपछि पाँच दिन लामो जात्रा सकिने विधि थियो ।

    काठमाडौँमा सेतो मच्छेन्द्रनाथको जात्रा भएपछि मात्र ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा गरिन्थ्यो । रातो मच्छेन्द्रनाथको जात्रा अक्षय तृतीयाका दिनदेखि शुरु हुन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गुठी संस्थान, समिति, बहालका गुठियार, वडा कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित बैठकले जात्रा नगरी क्षमा पूजा गर्ने निर्णय गरेको थियो ।

    यसैगरी आजकै दिन गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा मनाइने श्रीगणेश, श्रीभैरव र चामुण्डा देवीको रथायात्रासमेत कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन स्थगित गरिएको छ । रथयात्रा स्थगित गरेपछि आज मन्दिरमा क्षमा पूजा गरिएको श्री चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषका अध्यक्ष बिमलमान श्रेष्ठले जानकारी दिए । जात्रा हुन नसकेपनि मूर्ति निकाली नजिकैको महाङ्काल भैरवस्थानसम्म घुमाएर ल्याइएको उनले बताए।

    कोरोना भाइरसको सङ्क्रमण अन्त्य भई विश्व शान्ति कायम होस् भन्ने सङ्कल्पले मन्दिर परिसरमा शतचण्डी पाठ भइरहेको छ । कान्तिभैरव गुरुकुल उत्तरवाहिनीका सात ब्राह्मण वटुकले शतचण्डी पाठ गरिरहेका जनाइएको छ । चैत्र शुक्ल नवरात्रको अवसर पारेर प्रतिपदादेखि शुरु गरिएको शतचण्डी द्वादशीका दिन सकी हवनसमेत गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij