प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६
आज रामनवमी मर्यादा पुरुष भगवान रामको जन्म त्रेता युगमा आजकै दिन ईशापूर्व ७३९३ मा अयोध्यामा भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।मर्यादाभक्त रहि जीवन यापन गरेको कारण र परिवार, राज्यमा नै मर्यादित र न्यायिक सत्ता संचालन गरेको कारण रामलाई मर्यादा पुरुषोत्तम भनिएको हो । अझै पनि रामले संचालन गरेको मर्यादित राज्यको उदाहरण स्वरूप कतै शान्ति र न्यायिक समाज छ भने रामराज्य जस्तो भनि उदाहरण दिने गरिन्छ । भगवान रामको महत्व यहाँनिर झल्कन्छ कि वहाँको एकमात्र उद्देश्य थियो मानव जातिलाई आदर्श जीवन दिनु । रामलाई त्रेतायुगमा विष्णुको अवतारको रुपमा पनि मानिएको छ ।
अयोध्याका राजा दशरथका तीन रानीहरु थिए । दशरथका जेठा छोराका रुपमा रहेका रामको तीन भाइहरु भरत, लक्ष्मण र शत्रुधन थिए । कौशल्याको गर्भबाट रामको, कैकेयीको गर्भबाट भरतको तथा सुमित्राको गर्भबाट लक्ष्मण र शत्रुघ्न को जन्म भयो । भरत कि माता कैकेयीले रामबाट राजपाठ भरतलाई दिनको लागि राजा दशरथलाई छल गरि रामलाई १४ वर्ष बनवास पठाउन सफल भएकी थिईन् । पिताको आज्ञा लाई सहज रुपमा मानेर राजा राम हाँसी हाँसी बनवास गएका थिए । तर रामको साथमा सीता र भाई लक्ष्मण पनि साथै बनवास गए । तर रामभक्त भरतले बनवासमा रहेको दाज्यू सँग गई उनले लगाउने चप्पल(खराऊ ) ल्याई सिंहासनमा राखी राजपाठ चलाई दाज्युको मर्यादा राखेका थिए । यसबाट रामको पारिवारिक मर्यादा कति थियो बुझ्न सकिन्छ।
अयोध्याका राजा दशरथ पुत्र रामको बिवाह मिथिलाका राजा जनकका छोरी सीता सँग भएको थियो । राम अयोध्याका राजपाठ चलाउँथे, उता लंकाका राजा रावण पनि शक्तिशाली थिए । राम रावणको युद्ध एक न्यायिक समाजको लागि भएको पाईन्छ । अर्को तर्फ रावणले रामकै हातबाट मृत्यु भएमात्र आफ्नो बैकुण्ठवास हुने भएकोले सीता हरणको प्रपञ्च रची रामलाई आफूसँग युद्ध गर्न बाध्य बनाएको पनि भनिन्छ । रामको असल मित्र हनुमान थिए । हनुमानकै सहयोगमा रामले लंका विजय गरेका थिए ।
दक्षिण भारत, श्रीलंका र माल्दिभ्समा रावणको पनि उत्तिकै महत्वका साथ पुजन गरिन्छ । युद्ध अघि रावणले भनेका थिए म यो युद्ध राम सँग हार्नेछु किनकि मेरो भाई विभिषण स्वयं रामको साथमा छ र रामलाई हनुमान जस्तो असल मित्रको साथ छ । उता लक्ष्मणले रावण सँगै बसी युद्धको समयमा रामलाई कूटनीतिक सहयोग पुर्याएका थिए ।
राम नवमी पर्व असत्य माथि सत्यको विजय र अन्धकार माथि उज्यालोको प्रतिकको रुपमा मनाईन्छ ।
राम नवमी नेपाल, भारत, बंगलादेश, म्यान्मार,
थाईल्याण्ड, फिजिटापु, इण्डोनेशिया, साउथ अफ्रिकामा समेत विभिन्न धार्मिक गतिविधिहरु संचालन गरि मनाईन्छ । भगवान रामको विवेचना गरिएको ग्रन्थ “रामायण” वाल्मिकी ऋषि द्वारा लेखिएको हो भने नेपालीमा अनुवाद कवि भानुभक्तले गर्नु भएको हो ।
रामनवमीको दिन जनकपुरको राम जानकी मन्दिरमा नेपाल, भारत र अन्य मुलुकहरुबाट समेत ठूलो भक्तजनहरुको मेला लाग्ने गर्दछ ।
आज समाज धेरै व्यभिचारी भईसकेको छ । यस सन्दर्भमा रामायण अर्थात रामले गरेको राज्य संचालन अनुशरणको आवश्यकता छ । आशा गरौं फेरि यस मर्त्यलोकमा राम राज्यको पुनरावृत्ति होस् र राम जस्तो आदर्शवादी राज्य संचालक हुन । सबैको जय होस् हे राम ! श्रीराम ! जय राम । राम नवमीको शुभकामना !
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij