सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

यो वर्ष विपदमा परी ४४० जनाको मृत्यु, १२० बेपत्ता र ७४ करोडको क्षति

  • प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७



  • काठमाडौं। यो वर्ष वर्षातको समयमा भएका विपदका घटनामा परी ४४० जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको तथ्यांक अनुसार देशका सबै ७७ वटै जिल्लामा कुनै न कुनै विपदका घटनाबाट प्रभावित भएका छन्।

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्ति कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्थीका अनुसार मनसुन अझै सक्रिय रहेकाले क्षति बढ्नसक्ने अनुमान गरिएको बताए। उनका अनुसार वैशाख १ देखि असोज ८ सम्म देशभर भएका बाढी पहिरो, चट्यांग, सर्पदंश, भारी वर्षा र अन्य विपदमा परी ४४० जनाको मृत्यु भएको छ भने १२० जना अझसम्म हराइरहेका छन्। यस्तै ७ सय ४५ जना घाइते भएका छन्।

    उनका अनुसार यो अवधिमा १ हजार ८८६ वटा विपदका घटना भएका छन्। विपदका घटनाबाट देशभरका ५ हजार ८२९ घरपरिवार प्रभावित भएका छन्। १२३६ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने २८४२ घर आंशिकरुपमा क्षतिग्रस्त भएका छन्।

    यो वर्ष सबैभन्दा धेरै पहिरोमा परी जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ। गृह मन्त्रालयका अनुसार वैशाख १ देखि असोज ८ सम्मको अवधिमा ४६७ वटा पहिरो जाँदा २७७ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन्। यस्तै २११ जना घाइते भएका छन्। पहिरोले ७३० घरपरिवार प्रभावित भएका छन्। यो अवधिमा देशका ७७ मध्ये ५९ जिल्लामा पहिरोका घटना भएके गृह मन्त्रालयले जनाएको छ।

    यो अवधिमा पहिरोबाट सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको छ। गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा १८ वटा पहिरो जाँदा ३८ पुरुष र ३३ महिला गरी ७१ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा पहिरोमा परी १५ पुरुष र ८ जना महिला गरी ३२ जना घाइते भएका छन्। यस्तै १२० घर परिवार प्रभावित भएका छन्।
    सबैभन्दा धेरै पहिरो कर्णाली प्रदेशको कालिकोटमा गएको गृहको तथ्यांकले देखाउँछ। त्यहाँ १९ वटा पहिरोका घटना भएका छन्। पहिरोमा परी पुरुष १८ र महिला १९ जना गरी ३७ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। यस्तै ३२ जना घाइते भएका छन्।

    यो अवधिमा देशभर बाढी पहिरोले ३३७ गोठमा क्षति पुग्दा २२१८ वटा पशुचौपायको क्षति भएको छ। हालसम्म भएका कुल जनधनको क्षति ७४ करोड २५ लाख ६९ हजार ९१० रुपैयाँ बराबरको भएको गृह मन्त्रालयले अनुमान गरेको छ। प्रमुख वस्थीले क्षतिको विवरण आ आफ्नै ढंगबाट पेश गरिने भएकाले वास्ताविक क्षतिको विवरण यकिन नभएको उल्लेख गर्दै अहिले अनुमानमात्र गरिएको बताए।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij