आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कञ्चनपुरमा टोकन प्रणालीमार्फत् धान खरिद सुरु

  • प्रकाशित मिति : शनिबार, कार्तिक २२, २०७७



  • कञ्चनपुर, कात्तिक २२ । सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य सुरु गरेको छ ।

    कम्पनीले धान बिक्री गर्ने किसानको संख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत् धान खरिदको कार्य सुरु गरेको छ ।

    ‘कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै भिडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत् धान खरिद सुरु गरेका छौं’–कम्पनीका निमित्त कार्यालय प्रमुख नारायणप्रसाद खरलेले भन्नुभयो–‘टोकन प्रणालीअनुसार धान खरिद हुन थालेपछि भिडभाड नभइ सहजरुपमा धान खरिदको कार्य भइरहेको छ ।’

    उहाँकाअनुसार सुरुमा दुईओटा काँटा राखेर धान खरिद सुरु गरिएकामा कार्यलाई छिटो–छरितो बनाउनका लागि तीनओटा काँटा थपिएका छन् । यसबाट एकैपटक धेरै किसानको धान खरिद गर्न सहज भइरहेको छ । कम्पनीले धान खरिदका लागि हालसम्म १५० टोकन वितरण गरेको छ ।

    ‘कम्पनीमा ५० क्विन्टलमाथि धान बिक्री गर्न ल्याउने किसानसँग लालपुर्जा माग्ने गरेका छौं’–निमित्त कार्यालय प्रमुख खरेलले भन्नुभयो–‘वास्तविक किसान हो/होइन भनेर लालपुर्जा माग्ने गरिएको छ ।’

    व्यापारीहरुलेसमेत किसानबाट सस्तोमा धान खरिद गरी कम्पनीमा बेच्नका लागि ल्याउने भएकाले लालपुर्जा माग्ने गरिएको उहाँको भनाइ छ ।

    कम्पनीलाई सात हजार क्विन्टल धान खरिदका लागि कोटा निर्धारण गरिएको छ । हालसम्म कम्पनीले ५०० क्विन्टल बढी धान खरिद गरिसकेको छ । गत वर्षसमेत सात हजार क्विन्टलकै हाराहारीमा कम्पनीले धान खरिद गरेको थियो ।

    मंसिर ३ गतेसम्मका लागि धान खरिद गर्न कम्पनीले टोकन वितरण गरिसकेको छ । किसानलाई पालो पुर्‍याएर कम्पनीले टोकन दिने गरेको छ ।

    यस वर्ष धानको उत्पादन बढी भएकाले निर्धारित् कोटाभन्दा बढी धान खरिद हुने कम्पनीका कर्मचारीको भनाइ छ ।

    कम्पनीले मोटो धानमात्रै सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु दुई हजार ७३५ मा खरिद गरिरहेको छ ।

    असार महिनामै सरकारले धानको दररेट निर्धारण गरेपनि कम्पनीले धेरै ढिलो धान खरिद गर्न सुरु गरेको हो ।

    कार्यालय र आर्थिक व्यवस्थापन गर्न ढिलाइ हुँदा धान खरिदकार्यमा विलम्ब भएको कम्पनीका कर्मचारीको भनाइ छ ।

    खरिद गरिएको धान कम्पनीले भन्डारण गरी बोलपत्र प्रक्रियाद्वारा धानको कुटाइ गरी चामल बनाइ धनगढीको कैलालीको कार्यालयमा पठाउने गर्दछ ।

    कैलालीस्थित कम्पनीको कार्यालयले चामलको अभाव भएका पहाडी, हिमाली जिल्लामा सहुलियत दरमा चामल बिक्री वितरणको कार्य गर्दै आएको छ ।

    कञ्चनपुरमा खेती गरिएको कुल क्षेत्रफल ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४९६ हेक्टरमा हुने गरेको छ । यसको उत्पादन एक लाख ८९ हजार १३४.४० रहेको छ ।

    चालू आवमा धानको उत्पादन १५ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij