प्रकाशित मिति : शनिबार, मंसिर ६, २०७७
भाडामा बस्नका लागि भनेजस्तो ठाउँ पाउनु निकै गाह्रो हुन्छ । शहरी क्षेत्रमा राम्रो ठाउँको माग बढी हुँदा आफूले चाहेजस्तो बस्ने ठाउँ झनै पाइँदैन । भाडामा बस्दामा हरेक भाडावालले अनेकन समस्या भोग्नुपर्छ। यस लेखमा भाडावालले भोग्ने समस्या र तिनका समाधानका उपायबारे चर्चा गरिएको छ ।
सुहाउँदो घर नपाउनु
भाडामा बस्नेहरूको सबैभन्दा ठूलो समस्या भनेको सोचेजस्तो र आवश्यकता अनुसारको कोठा नपाउनु हो । भाडावालले आफू बस्ने कोठा वा घरलाई आफ्नै घरजस्तो मान्नुपर्छ । त्यसका लागि सो घर वरपरका छिमेकी र त्यहाँको वातावरण असल हुनुपर्छ । मुख्य कुरा घरभाडा तपाईंको बजेटले धान्ने हुनुपर्छ । सुरक्षित वातावरण, स्कुल र अस्पताल नजिक हुनु, सार्वजनिक यातायातको सहज पहुँच , पर्याप्त प्रकाश, भेन्टिलेसन र असल घरभेटी आदि कुराले भाडामा बस्न आकर्षित गर्छ । यस्तो घर पाउन बढी समय लाग्ने र प्रयत्न पनि त्यति नै गर्नुपर्छ ।
अहिले प्रविधिको विकाससँगै थुप्रै अनलाइन पोर्टलले घरभाडासम्बन्धी सूचना प्रवाह गरी सेवा प्रदान गरिरहेका छन् । चाहेको ठाउँमा, बजेटलगायत आवश्यकताअनुसार ती अनलाइन पोर्टलले घर भाडामा मिलाइदिने गर्छन् ।
शीघ्र निर्णय गर्नु
यदि सोचेजस्तो घर पाउनुभयो भने निर्णय गर्न ढिलो नगर्नुहोस् । छिटो निर्णय गर्दा, घरभाडा र कुनै पनि सम्झौतामा हस्ताक्षर गर्नुपूर्व आफूले भाडामा लिने सम्पत्तिको राम्रोसँग निरीक्षण भने गर्नुपर्छ । घरभेटीसँग स्पष्ट रूपमा कुराकानी गर्नुपर्छ । सम्झौताको मस्यौदा तयार पार्नुअघि परिवारका सदस्यसँग छलफल गर्नुहोस् । अनिश्चित र दोधारे भाडावाललाई घरभेटीले मन पराउँदैन । निर्णय ढिलो गरे घरभेटीले अन्य व्यक्तिलाई घरभाडामा दिन सक्छ । बल्लतल्ल पाएको खोजेजस्तो घर हातबाट फुत्किँदा तनाव हुन सक्छ । त्यसैले समयमै निर्णय गर्नुहोस् ।
उचित भाडादर
घर वा अपार्टमेन्ट भाडामा लिँदा त्यसको मासिक भाडा र तिनुपर्ने म्याद वा मितिबारे सोध्न अति आवश्यक छ । भाडा सम्झौता भनेको घरभेटी र भाडावालबीच हुने आपसी सम्झौता हो । घरभेटीले भनेको मासिक भाडा उचित हो÷होइन थाहा पाउन त्यस क्षेत्र वरपरका छिमेकसँग चलनचल्तीको भाडाबारे थाहा पाउन जरुरी छ । त्यस क्षेत्रमा समान सुविधा भएका अन्य भाडाका घरको निरीक्षण गरी सोहीअनुरूप मासिक भाडा निर्धारण गर्न सक्नुहुन्छ ।
भाडा सम्झौताका समस्या
घर भाडामा लिँदा सम्झौतामा लिखित सबै कुरा नपढी हस्ताक्षर गर्ने गल्ती धेरैले गर्ने गरेका छन् । जसका कारण पछि पछुताउनुपर्छ । सामान्य कोठा भाडामा लिँदा लिखित सम्झौता गर्ने चलन नभए पनि पूरै घर भाडामा लिँदा वा कम्पनी अथवा संस्थाको नाममा घर भाडामा लिँदा यस्तो सम्झौता गर्ने गरिन्छ । सम्झौता गर्दा त्यसमा लिखित बुंदा नहेरी हस्ताक्षर गर्नाले विवाद र समस्या उत्पन्न हुन सक्छ । सम्झौतापत्रमा घरको मासिक भाडादर, निश्चित समयावधिसम्म भाडादर परिवर्तन गर्न पाउने÷नपाउने कुरा उल्लेख गरिएको हुन्छ
भाडा सम्झौताको कुनै निश्चित ढाँचा हुँदैन । सामान्यतया यसमा घरमालिक, भाडावाल र साक्षीको नाम र सम्पर्क विवरण समावेश हुन्छ । यसमा भाडाको सम्पत्तिको विवरण, भाडादर, भाडाको अवधि, अन्य विवरण लगायतमा सहमति भएको कुरा उल्लेख हुन्छ । घरभेटीले सम्झौतामा भनिएबमोजिम मात्र भाडा शुल्क बढाउन पाउँछ । त्यसकारण यसमा सहमत हुनका लागि सम्झौताका प्रत्येक बुँदा राम्रोसँग पढेर, बुझेर मात्र हस्ताक्षर गर्नुपर्छ । यदि सम्झौताका शर्त, नीति र कानुनी पक्षबारे अनभिज्ञ हुनुहुन्छ भने वकिल वा कानुनी सल्लाहकारसँग परामर्श लिन सक्नुहुन्छ ।
घर मर्मतबारे अन्यौल
मर्मतसम्बन्धी कुरा पनि भाडा सम्झौता गर्दा हेर्नै पर्ने पक्ष हो । धेरैजसो भाडा सम्झौतामा भनिएको हुन्छ कि, ‘विभिन्न कुरालाई आधार मानेर घरमा हुन जाने क्षति वा नोक्सानीको मर्मतसम्भारको जिम्मेवारी घरमालिक र भाडावाल दुवैको हुन्छ ।’ उदाहरणको लागि भित्ता चर्किएको, पानी चुहिने, पाइप फुटेको र अन्य संरचनात्मक क्षतिको पुनः निर्माण घरभेटीको जिम्मेवारी हुन्छ । मर्मत र निर्माणमा लाग्ने खर्च सबै घरभेटीले बेहोर्नुपर्छ । त्यस्तै, आपूmले प्रयोग गरेको भित्री संरचनाको क्षतिको पुनः निर्माणको जिम्मा भाडावालले लिनुपर्छ । यसअन्तर्गत कुनै उपकरण चलाउन वायरिङ परिवर्तन गर्नु परेमा हुने खर्च, भित्तामा रङ परिवर्तन गरी अर्को लगाउँदा आदि खर्च पर्छन् । सम्पत्ति मर्मतसम्बन्धी शर्त पनि भाडा सम्झौतामा उल्लेख गरिएको हुन्छ ।
समग्रमा दुवै पक्षले आफ्नो कानुनी अधिकार र दायित्वबारे बुझ्नुपर्छ । भाडामा बस्न थालेपछि एक असल भाडावालको जिम्मेवारी के हो ? भनेर राम्ररी थाहा पाउनुपर्छ भने घरभेटीलाई पनि भाडामा बस्नेसँग सम्मानपूर्वक व्यवहार कसरी गर्ने ? भन्ने थाहा हुनुपर्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij