प्रकाशित मिति : शनिबार, माघ २४, २०७७
गलकोट । बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ। जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो।
हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन्। शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ। ढोरपाटन उपत्यकामा शुक्रबार हिउँपरेको स्थानीय कमल भण्डारीले जानकारी दिए।
उनले यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने जानकारी दिए। हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ। हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताए।
ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन सञ्चालन गरेको छ। हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायातका साधन चल्न सकेका छैनन्। लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन्। मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने किसान रामबहादुर खड्काले बताए।
हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ। वर्षा र हिमपातका कारण चिसो बढेको छ। ढोरपाटन तथा निसीखोलाको उच्च भागसँगै बागलुङ र पूर्वी रुकुम सिमानामा हिमपात भएको छ।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij