प्रकाशित मिति : शनिबार, असार १९, २०७८
गाेरखा । गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उनकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको उनले बताए। इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो। सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए।
युवकको उद्धार
उत्तरी गोरखाको आरुघाट गाउँपालिका–३, सोतीस्थित फुङगी खोलाले बगाएका एक पुरुषको आज उद्धार गरिएको छ। खोलाले बगाएका आरुघाट गाउँपालिका–१ श्यामचेतका २६ वर्षीय किरण लामालाई स्थानीयवासीले उद्धार गरेको प्रहरीले जनाएको छ।
बिहान करीब ९ः३० बजे खोला तर्ने क्रममा एक्कासि खुट्टा चिप्लिएपछि खोलाले बगाएका लामालाई २० मिटरसम्म बगाएर बगरमा पु¥याएको थियो। घटनालगत्तै स्थानीयवासीले देखेपछि लामाको उद्धार गरिएको उहाँको भनाइ छ। अचेत अवस्थामा उद्धार गरिएका लामाको अहिले आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रनाउ दाहालले जानकारी दिए।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij