प्रकाशित मिति : बुधबार, साउन २७, २०७८
काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै सयौं युवाहरुलाई ठगी गरेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर दिप बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय गुरुङले सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेका थिए ।
काठमाडौं महानगरपालिका–५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीले करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाएका थिए । पैसा उठाएपछि सम्पर्कबिहिन बनेका अन्यको खोजि भइराखेको प्रहरीले बताएको छ ।
ठगी कार्यमा संलग्नमध्ये गुरुङलाई पक्राउ गरी उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालक सहित ४ जनाको खोजी भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij