प्रकाशित मिति : बिहिबार, जेष्ठ १९, २०७९
किशोरीलाई अपहरण गरी सामूहिक बलात्कारमा संलग्न रूपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ रुद्रपुरमा ल्याई सामूहिक बलात्कार गर्ने ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए।
छ जनै युवा १९ वर्षका रहेको पनि उनले जानकारी दिए।
मंगलबार राती नै अपहरण गरी लगेको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा टोली परिचालन गरी खोजी कार्यलाई सक्रिय बनाएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए।
कार्कीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट अनुमति लिई शरीर बन्धक, अपहरण तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिएको छ। पीडित किशोरीलाई भने स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij