प्रकाशित मिति : शनिबार, मंसिर १, २०८१
काठमाडौं। श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ। एनपीपीले २२५ सदस्यीय तल्लो सदनमा १५९ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको छ।
अघिल्लो निर्वाचनमा केवल तीन सिट जितेको एनपीपीले यस निर्वाचनमा १५९ सिट जितेको श्रीलंकन मिडिया डेली मिररले उल्लेख गरेको छ। २२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ।
त्यस्तै, विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ४० सिट जितेको छ भने पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल पाँच सिट जितेको बताइएको छ।
राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी)ले ३ सिट जितेको छ। सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट प्राप्त गरेको विज्ञहरू बताएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij