प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
काठमाडौं । ठमेलको एक होटलमा सञ्चालित जुवा खालमा छापा मारेर प्रहरीले १३ जुवाडेलाई पक्राउ गरेको छ । धादिङ फुलाखर्कका ध्रुव अधिकारीले सञ्चालन गरेको होटल नेपालयमा जुवा खाल चलिरहेको सुचना पाएपछि महानगरीय प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले अधिकारीसहित १३ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६ लाख १९ हजार नगद, एक लाख जापानी ऐन, दुई सय बिस अष्ट्रेलियन डलर, सात सय २५ ओमन रिङ्कन डलर बरामद गरिएको महानगरीय प्रहरी वृत लैनचौरले जनाएको छ ।
१६ थान कौडा सहित पक्राउ परेकाहरुलाई लैनचौरमा राखेर थप अनुसन्धान शुरु गरिएको छ । जुवा अड्डा होटल सञ्चालक ध्रुव अधिकारीले सञ्चालन गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
को–को पक्राउ परे ?
होटल नेपालयको जुवा अड्डाबाट पक्राउ पर्नेहरुमा गोरखा स्थायी घर भएका सुजन अधिकारी, सन्तोष विक्रम अधिकारी, राम प्रसाद सिम्खडा, अमृत क्षेत्री, रसुवा स्थायी घर भएका प्रकाश अधिकारी, काठमाडौं गल्फुटारक मिलन थापा, मोरङका पुस्कर घिमिरे, चितवनका कुमार थपलिया, धादिङका जीवन अधिकारी, धु्रव अधिकारी, काठमाडौंका समित गुरुङ, किसन थापा र शेर बहादुर खत्री छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij