सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गढीमाईमा हुने पशुबलि रोक्ने फैसलाको स्वागत

  • प्रकाशित मिति : शुक्रबार, अशोज १०, २०७६



  • वीरगञ्ज। बारा जिल्लाको गढीमाई नगरपालिका–११ मा रहेको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा हुने बलिप्रथालाई रोक्न सर्वोच्च अदालतले जारी गरेको परमादेश तथा निर्देशनात्मक आदेशलाई स्वागत गर्दै त्यहाँ हुने रक्तपातलाई रोक्न जनस्तरमा चेतना फैलाउनुपर्ने बिहीबार पर्साको वीरगञ्जमा आयोजित अन्तरक्रियामा वक्ताले बताएका छन् ।

    करीब २६५ वर्षको लामो इतिहास बोकेको धार्मिक शक्तिपीठ गढीमाई मन्दिरमा हुने पशुबलि जस्ता कुसंस्कारलाई रोकी अर्को विकल्प खोज्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

    सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा बिहीबार वीरगञ्जमा आयोजित गढीमाई मेलामा बलि दिने प्रथालाई निरुत्साहित गर्नेबारे आयोजित अन्तरक्रियामा वक्ताहरुले पूरातनरूपमा चलिआएको यो प्रथालाई रोकी पशुबलिको ठाउँमा अन्य विकल्प अपनाउन सबैसँग आग्रह गरेका छन् ।

    वक्ताहरुले विश्वमा सबैभन्दा बढी पशुबलि गढीमाई मन्दिरमा दिने परम्पराका कारण विश्वमाझ नेपालको छविमा नकारात्मक प्रभाव पर्दै गएकाले त्यसलाई विस्तारै परिर्वतन गरी सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। प्रत्येक पाँच वर्षमा लाग्ने यो मेला यस वर्ष आउँदो मङ्सिर १७ गते देखि शुरु हुँदैछ । मेलामा बलि दिन नेपाललगायत भारतका लाखौँ दर्शनार्थीहरु आउने गरेका छन् ।

    बलिप्रथा रोक्नुपर्ने माग राखी फैसला कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तथा रिट निवेदक मध्येका एक मनोज गौतमले दिएको रिट निवेदनको मुद्दामाथि सर्वोच्च अदालतले २०७३ साउन २० गते बलिप्रथा रोक्नेबारे फैसला सुनाएको छ ।

    सर्वोच्च अदालतले नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विपक्षीको नाममा जारी गरेको परमादेश तथा निर्देशनात्मक आदेशमा भनेको छ, “पशुबलि दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा प्रोत्साहनमा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्ता कार्यलाई निरुत्साहित गर्न गराउनू ।

    अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश डिल्लीराम आचार्यले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न नियतमा परिर्वतन गरी जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि जोड दिए। उनले कानूनले समाज नबनाएर समाजले कानून बनाउनु पर्ने भएकोले बलिप्रथा उन्मूलनप्रति सकारात्मक सोच लिएर समाज अगाडि बढ्नुपर्नेमा जोड दिए।

    सोही कार्यक्रममा पर्सा तथा बाराका प्रमुख जिल्ला अधिकारीहरु नारायणप्रसाद भट्टराई तथा फणिन्द्रमणी पोखरेलले मङ्सिर १७ गतेदेखि शुरु हुने गढीमेलालाई कसरी रक्तपातविहीन बनाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलालाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे।

    वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले धर्मशास्त्र विरुद्धमा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न निसहाय प्राणीको बलि दिनु अमानवीय भएको बताए।

    सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय काठमाडौँका महानिर्देशक गजेन्द्रबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कुमार पौडेल, मनोज गौतम, अधिकारकर्मी सिकेन्द्र पासवान, पशु कल्याण सङ्घ नेपालका अध्यक्ष कलावती पासवानलगायतका वक्ताहरुले विश्वमा सबैभन्दा बढी पशुबलि दिइने गढीमाईको सन्दर्भमा भारतीय अदालतले पनि आफ्ना स्थानीय सरकारलाई भारतबाट बलि चढाउन पशुहरु लगिने भएकोले खुला सीमाका कारण सो रोक्न नसकिएको जनाएकाले समाजमा चेतना फैलाउनुपर्नेमा जोड दिए। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij