प्रकाशित मिति : शुक्रबार, कार्तिक १५, २०७६
दाङ। दाङको गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।
प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार शुक्रबार अपराहन्न भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् ।
ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवास्वास्थ चौकीमा उपचारका क्रममा तीनको मृत्यु भएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य चारजना गम्भीर र १९ सामान्य घाइते भएका छन् ।
तिहारमा खेलेको भैलोबाट सङ्कलन भएको पैसाले उनीहरु वनभोज खान गएका थिए । वनभोज खाएर फर्कने क्रममा कोइलाबास सडकको चिसापानी नजिकै दुर्घटना भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij