प्रकाशित मिति : बुधबार, कार्तिक २७, २०७६
काठमाडौं । तराई क्षेत्रमा मधेसी तथा थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् ।
भाइटिकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमाका दिनसम्म मनाइने यो पर्व दिदीबहिनीहरुले दाजुभाईको दीर्घायुको कामना गरी मनाउने गर्दछन् ।
खासगरी मिथिलाञ्चल क्षेत्रमा थारु र मधेसी ब्राह्मण समुदायले मनाउने यो पर्व अन्यत्र पनि मनाउन थालिएको छ । यो पर्वलाई तराई क्षेत्रमा होली र छठपछिको ठूलो पर्व मानिन्छ ।
द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा बृन्दावन जंगलमा घुम्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएका थिए ।
यो कुरा सुनेपछि सामाका भाइ साम्बले दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको किम्बदन्ती छ । भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा बनाएर पर्व मनाउन थालिएको जनविश्वास छ ।
यो पर्वमा गाउँघरका कुमारी कन्या एकत्रित भई रातको समयमा लोकगीत गाएर माटोले बनाइएको मूर्ति पूजा गर्ने प्रचलन छ । १५ दिनसम्म यसरी सामाचकेवा मनाएपछि गाउँघर नजिकको जलासय, नदी आदिमा लगेर मूर्ति सेलाउने र दाजुभाईलाई मिठाइ तथा अन्य पकवान खुवाएर विधिवत रुपमा पर्व समापन गर्दछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij