सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति

  • प्रकाशित मिति : बिहिबार, मंसिर १९, २०७६



  • काठमाडौं । रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई निर्देशन दिन शक्तिशाली निर्देशक समिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा बिहिबार सो समिति गठनको प्रस्तावमा सहमति जुटेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहने निर्देशन समितिमा प्रधानसेनापति, शिक्षा, गृह, रक्षा, स्वास्थ्य, कृषि र उद्योग मन्त्रालयका सचिव, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक सदस्य रहनेछन् । समितिमा मन्त्रालयले मनोनीत गर्ने एक महिलासहित तीनजना विज्ञ सदस्य रहने र शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव हुने प्रस्ताव गरिएको छ ।

    विधेयकमाथि बुधबारदेखि समितिमा दफावार छलफल शुरु भएको छ । समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकले विधेयकको दफा २१ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकिरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ । त्यस्तै ‘पारमाणविक पदार्थ’ भन्नाले युरेनियम २३३, युरेनियम २३५ वा परिमार्जित गरिएको युरेनियम, प्लुटोनियम र यसका आइसोटोप्स भनी परिभाषित गरिएको छ ।

    विधेयकको दफा ४ मा सरकारले रेडियोधर्मी पदार्थको तथा संयन्त्रको नियमनसम्बन्धी कार्य गर्न एक नियमनकारी निकायको स्थापना गर्ने र नियमनकारी निकायको स्थापना नभएसम्म सोसम्बन्धी कार्य शिक्षा मन्त्रालयले गर्ने व्यवस्था गरेको छ । साथै पारमाणविक पदार्थसम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    अनुसन्धान केन्द्रले रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धिका लागि दक्ष र आवश्यक जनशक्ति विकास गर्ने, विभिन्न प्रकारका विकिरणको प्रभावबाट हुनसक्ने सम्भाव्य नकारात्मक प्रभावको नियन्त्रण सम्बन्धमा अध्ययन अनुसन्धान गरी सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षणका लागि आवश्यक कार्य गर्नेछ । यसका साथै केन्द्रले स्वास्थ्य, कृषि, पशु, उद्योग, पुरातात्विक वस्तुको संरक्षण, भूमिगत जलस्रोत एवं भौतिक पूर्वाधार विकास र खाद्य पदार्थको सुरक्षित भण्डारणका लागि पारमाणविक प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान गर्ने विधेयकमा उल्लेख छ ।

    बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको व्यवस्थापन गर्न, यसको अध्ययन अनुसन्धान गरी जनशक्ति तयार गर्न र अन्य मुलुकबाट नेपालाई हुने रेडियोधर्मीका असरको क्षतिपूर्ति दिलाउनु विधेयक ल्याउनुपरेको धारणा व्यक्त गरेका थिए।

    रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनिकरण गर्ने विकिरणबाट पर्नसक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न सो विधेयक ल्याइएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij