सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज हनुमान जन्मोत्सव, हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै

  • प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६



  • काठामडाैं। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ। त्रेता युगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो।

    रामायणमा वर्णन गरिएअनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिएका थिए। रावणले सीता हरण गरेर लगेपछि रामले दशवटै दिशामा खोज्न दूत खटाए। त्यसबेला समुद्रबाट जानुपर्ने दक्षिणतिर खोज्ने जिम्मेवारी हुनमानको थियो।

    सूर्यका श्रापले उड्न सक्ने शक्ति बिर्सिएका हनुमानलाई रामायणकालीन पात्र जाम्ववानले त्यो शक्तिको स्मरण गराएका थिए। सीता खोज्दै लङ्का पुगेका हनुमानले अशोकवाटिकामा भेटी रामको दूतका रुपमा औँठी दिए।

    सीतालाई अशोकवाटिकामा भेटिसकेपछि हनुमान फलाहार गर्न रावणको बगैँचामा पसे। फल खाइरहेका बेला रावणका सेनाले पक्रिएर दरबारमा पुर्याए। रावणको आदेशमा बजारबाट कपडा ल्याई हनुमानको पुच्छरमा बाँधेर तेल राखी आगो लगाइदिए। हनुमानले लङ्काका विभिन्न स्थानमा आगो सल्काइदिँदै समुद्रमा गई पुच्छरको आगो निभाए। लङ्का जल्न थाल्यो। रावणका सेनामा हाहाकार मच्चियो।

    लङ्काबाट फर्किएर श्रीरामलाई सीताको खबर सुनाउनुभएका हनुमानले रामायणको युद्धअघि दूतका रुपमा रावणलाई शान्तिको सन्देश दिए। रावण सम्मानपूर्वक सीता फर्काउन तयार नभएपछिको युद्धमा पनि हनुमानले श्रीरामलाई साथ दिए। युद्धमा लक्ष्मण मुच्र्छा हुँदा सञ्जीवनी बुटीका लागि पर्वत नै उचालेर लङ्कामा उतारे।

    बलशाली व्यक्तित्व हनुमानको पूजा आराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने त्रासमा घर घरमै बन्दाबन्दी (लकडाउन) मा बसेका मानिसका लागि हनुमानको पूजा, आराधना एवं पाठ पारायणले मानसिकरुपमा शान्ति र आशाको सञ्चार गर्ने उनको भनाइ छ।

    विगत वर्षमा हनुमान जन्मोत्सवका अवसरमा मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र, बजरङ्ग सत्सङ्ग मण्डल, हनुमान सेवा आराधना मण्डललगायत संस्थाले विशेष पूजा आराधनासहित रथयात्रासमेत निकाल्थे। यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नियमित पूजा मात्र गरिने बजरङ्ग सत्सङ्ग मण्डलका उपाध्यक्ष कृष्णकुमार अग्रवालले जानकारी दिए।

    यस अवसरमा हनुमानढोकास्थित हनुमान मन्दिरमा विशेष पूजा आराधना गरी विभिन्न अस्पतालमा उपचाररत एक हजार जना बिरामी एवं तिनका आफन्तलाई प्रसादसहित भोजन गराउने कार्यक्रम रहेको जानकारी पनि उनले दिए। हनुमानढोका दरबारअघि मन्दिरमा हनुमान चालिसाको पाठ पारायण पनि गरिनेछ।

    हनुमान अष्टचिरञ्जीवीमध्ये पर्नुहुने शास्त्रीय ग्रन्थमा व्याख्या गरिएकाले पञ्चाङ्ग (पात्रो) मा लेखिँदै आएको हनुमान जयन्तीका स्थानमा हनुमान जन्मोत्सव लेख्न मण्डलले अनुरोध गर्ने जनाएको छ। मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुरामलाई अष्टचिरञ्जीवीका रुपमा पूजा आराधना गरिन्छ। आठैजना अहिलेसम्म जीवित रहेको विश्वास गरी जन्मोत्सवका दिनमा अष्टचिरञ्जीवीको विशेष पूजा हुन्छ।

    यस अवसरमा कुलेश्वरको हनुमान मन्दिर, गोकर्णेश्वर उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हुनमान मन्दिरमा विशेष पूजा आराधना गरिने छ। हनुमानका भक्तहरुले घर घरमा पनि पूजा आराधना गरी हनुमान चालिसा, रामायणलगायत ग्रन्थ पाठसमेत गर्छन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij