सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सरकारको निर्देशन– राहत बाँडेको फोटो–भिडियो फेसबुकमा नराख्नू

  • प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६



  • २५ चैत, काठमाडौं । लकडाउन गरिएका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरिएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत् प्रचार नगर्न सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।

    राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको निष्कर्ष निकाल्दै सरकारले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो ।

    कोरोनाको महामारीका कारण विश्व नै संकटमा परेको र नेपाल पनि अति जोखिममा रहेकाले सरकारले संक्रमण फैलिन नदिन ११ चैतदेखि देशभर लकडाउन गरेको छ । लामो समयको लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग, गरिब तथा विपन्न परिवारको लगत संकलन गरी उनीहरुलाई राहत बाँड्न सरकारले स्थानीय तहलाई जिम्मा दिइएको छ ।

    तर, कतिपयले आफूखुसी राहत बाँड्दै सामाजिक सन्जालमा भद्दा प्रचार गरिरहेका छन् । कतिपयले त स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउने पीपीई लगाएर आफ्नो फोटो सामाजिक सन्जालमा राखेको पाइएको थियो ।

    त्यसैले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सर्कुलर गर्दै प्रचारात्मक काम नगर्न निर्देशन दिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । अधिकारीले भने, ‘फेसबुकमा फोटो भिडियो हालेर आफ्नो प्रचार गर्ने काम भयो । त्यसैले गरिब विपन्नले राहत महसुस गर्ने गरी काम गर, प्रचारमा ध्यान नदेऊ भनेर मन्त्रालयले निर्देशन दिएको हो ।’

    हेर्नुस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सर्कुलर

    मन्त्रालयले सर्कुलर जारी गर्दै राहत वितरणको सस्तो प्रचारबाजीले जनमानसमा राम्रो सन्देश नजानेतर्फ स्थानीय तहहरुको ध्यानाकर्षण गराएको छ ।

    सर्कुलरमा लेखिएको छ, ‘केही स्थानीय तहमा स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्तिगत सुरक्षा सामग्रीहरु (पीपीई)को प्रयोग जनप्रतिनिधि तथा अन्य असम्बन्धित व्यक्तिहरुले समेत गर्ने गरेको तथा राहत वितरणका गतिविधिहरु समेत सार्वजनिकीकरणको लागि मात्र केन्द्रित गर्ने जस्ता गतिविधिहरु भएको बुझिएको हुँदा यसबाट जनमानसमा राम्रो सन्देश नजाने विषयलाई आत्मसात गरी यस्ता कृयाकलापहरु नगर्ने/नगराउने तथा यस्ता गतिविधिहरु निरुत्साहित गर्ने ।’

    मन्त्रालयको निर्देशनअनुसार स्थानीय तहहरु र गाउँपालिका महासंघले पनि सूचना जारी गरी राहत वितरणको क्रममा खिचिएका फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन् ।

    मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले राहतका वितरणका नाममा विपन्न समुदायको मजाक उडाइएकाले सूचना जारी गरेरै भद्दा प्रचार नगर्न भनिएको जानकारी दिए । ‘राहतका नाममा गरिबको मजाक उडाएको जस्तै देखियो,’ कानेपोखरी गाउँपालिका अध्यक्ष काफ्लेले, ‘१–२ सयको सामान दिएर ८–१० जनाले फोटो खिचेको पनि देखियो ।’

    कानेपोखरी गाउँपालिकाले राहत वितरणका फोटो वा भिडियो सामाजिक सन्जलामा नराखी संस्थागत अभिलेखका रुपमा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

    गाउँपालिकाले जारी गरेको सूचनामा लेखिएको छ ‘राहत वितरणका क्रममा लिइएको फोटो तथा भिडियोलाई केवल संस्थागत अभिलेखका रुपमा मात्र प्रयोग हुनुपर्नेमा यस्ता फोटो तथा भिडियो  सामाजिक सञ्जाल र सञ्चार माध्ययमा भद्दा प्रचारको सामाग्री बनेको देखिएकाले सो सम्बन्धमा गाउँपालिकाभित्र कोरोना भाइरस संक्रमण रोकथामका लागि वितरण गरिने मास्क, सेनिटाइजर लगायत राहत सामाग्रीहरु वितरण गर्दाका फोटो तथा भिडियो सामाजिक सञ्जालमा अनावश्यक प्रचार नगर्नु हुन अनुरोध छ ।’

    कोरोना महामारीका त्रासका बेला राहतका नाममा अनावश्यक प्रचार बढेपछि यसअघि स्याङ्जाको वालिङ नगरपालिकाले पनि राहत वितरण गरेको तस्वीर खिच्न नपाइने नियम लागु गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij