प्रकाशित मिति : शनिबार, कार्तिक २९, २०७७
गाउँबस्तीमा भुस्याहा कुकुरहरु पहिले पनि थिएनन् । जति थिए घरपाला नै थिए । सबै घरपाला पनि पूर्ण घरपाला थिएनन् । आंशिक थिए । घरमा परिवार कति छन् तीमध्ये प्रौढजतिले आफु खाना खाएर चुठ्न निस्कँदा एक गाँस ढिँडो दिन्थे । कुकुरले बाहिरतिर जे भेटिन्छ खाएर पेट भर्थ्यो । अरु केही नपाए मानिसले बाटोको छेउछाउ हगेका दिसा खाएर गुजारा गर्थ्यो । यस्तो दयनीय गुजारा हुँदा पनि घरपाला कुकुरहरु आफुलाई गाँसबास दिने घरको पहरा दिन्थ्थे । अपरिचित आउँदा भुक्थे । अटेर गरे टोक्थे । कुकुर पालेका घरमा चोरको डर हुन्थेन । उता बारी कुँडारमा बाँदर आयो भने फाल छोडेर भुक्दै जाइलाग्थे । धपाउँथे । रातभरि घरको दलानमा बसेर भुक्थे. । चितुवा आयो भने खाटमुनि लुक्दै भुक्थे । घरभित्र, धनसारभित्र सुरक्षित बास पाएकोछ भने त्यतैबाट भुक्थे । गाउँमा गरीव घरहरुले आफ्ना आसे गाँसे कुकुरलाई राति घरभित्रैे सुरक्षित सुत्न दिन्थे । ठुलाघरेहरु धनसारभित्र ठाउँ दिन्थे । कतिका धनसार थिएनन् । घरभित्र राख्ने रुचि पनि थिएन । तिनीहरु कुकुरलाई राति घरबाहिरै छोडिदिन्थे । भोटे कुकुर, दोरङ्गे कुकुर घाँटीमा फलामका जन्जीर बाँधेर छोडिएका कुकुर छन् भने राति बाघसित पनि लाप्पा खेल्थे । कुस्ती सुनेर निद्रा खुलेका आँटी घरपतिहरुले ढोका खोलेर चिच्याएपछि बाघ भाग्थ्यो । घरका कलिला बाच्छापाडा पनि जोगिन्थे. । गाउँमा एउटा कथा पनि थपिन्थ्यो । अन्यथा घर बाहिर छोडिएका साधारण कुकुरहरु चितुवाको सुलभ सिकार बन्थे । चितुवाले समातेपछि क्याङ्ल्याङ् गर्नुभन्दा बढी विरोध सर्वसाधारण कुकुरको क्षमतामा थिएन । विना विरोध ज्यान दिन्थे गाउँबस्तीका कुकुरहरु । गाउँबस्तीका जानिफकारहरुमै पनि आफुलाई पहरा दिने कुकुरलाई गाँसबासको पर्याप्त सुविधा दिने सोचसमझको लगभग अभाव नै थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij