आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अपार्टमेन्ट किन्ने कि घर ? यस्तो छ लाभ–हानीको तुलनात्मक बिश्लेषण

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • ‘घर किन्ने कि अपार्टमेन्ट ?’ कतिपय मानिस दुविधामा हुन्छन् । एकल घरमा बस्ने कि गगनचुम्बी अपार्टमेन्टमा, यो हरेक मान्छेको व्यक्तिगत इच्छा हुन सक्छ । घरमा आफ्नो चाहनाअनुसार चल्न सकिन्छ भने अपार्टमेन्टमा सम्पूर्ण साझा सुविधा उपभोग गर्न सकिन्छ । दुवैका आ–आफ्नै फाइदा र बेफाइदा छन् ।

    घर र अपार्टमेन्टबारे दोधारमा हुनुहुन्छ भने यो लेख तपाईंका लागि उपयोगी हुन सक्छ । यहाँ घर र अपार्टमेन्ट दुवैका फाइदा र बेफाइदाबारे चर्चा गरिएको छ ।

    घर र अपार्टमेन्टबीच फरक 

    एकल घरमा एकाधिकार हुन्छ । जग्गा सहितको सम्पूर्ण क्षेत्रको एकल स्वामित्व र उत्तरदायित्व रहन्छ । कुनै पनि सुविधा वा अधिकार कसैसँग साझेदारी गर्नु पर्दैन । सेवासुविधाका लागि आफैँले पूरै लगानी गर्नुपर्ने हुन्छ । घरको सुरक्षा, मर्मतसम्भारदेखि विस्तारसम्म आफै गर्नुपर्ने हुन्छ । एकल घर दुई–अढाई तलासम्मको हुन्छ । जहाँ व्यक्तिगत कम्पाउन्ड हुन्छ ।

    तर, अपार्टमेन्ट गगनचुम्बी हुन्छन्, जहाँ धेरै परिवार बसोबास गर्न सक्छन् । अग्ला र धेरै भवन भएका बहुआवासभित्रको निजी निवास भएकाले अपार्टमेन्टममा बस्नका लागि पूरै भवन नभएर केही निजी भाग र साझा क्षेत्रको केही अंश मात्र खरिद गर्नुपर्ने हुन्छ ।

    त्यसैले अपार्टमेन्टमा केही साझा क्षेत्र र सुविधा साझेदारी गरिएको हुन्छ । स्विमिङ पुल, ग्यारेज, बगैँचा, लन्ड्री रुम, हेल्थ क्लब लगायतमा एकल स्वामित्व रहँदैन । अपार्टमेन्टमा बसोबास गर्ने सबैले बराबरी प्रयोग गर्न पाउँछन् ।

    पछिल्लो  समय ‘क्वालिटी लाइफ’ जिउन अपार्टमेन्ट खोज्नेहरू बढ्दै गएको हाउजिङ र अपार्टमेन्ट डेभलपर कम्पनी सीई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारी बताउँछन् । ‘थोरै कमाइ हुनेहरू, जसले सिंगल घर खरिद गर्न सक्दैनन्, उनीहरूको रोजाइमा अफोर्डबल अपार्टमेन्ट पर्छन्,’ उनी भन्छन्, ‘छोराछोरी विदेशमा रहेका अभिभावक, जो आफू पनि वर्षमा छ महिना बाहिर बस्ने गर्छन् र कहिलेकाहीँ मात्र नेपालमा बस्छन्, उनीहरू हाई एन्ड अपार्टमेन्ट रोज्छन् ।’

    घर किन्नुका फाइदा र बेफाइदा

    यदि तपाईं आफ्नो स्वतन्त्रता र गोपनीयतालाई बढी प्राथमिकता दिनुहुन्छ भने एकल घर किन्नु नै बुद्धिमानी हुनेछ । घरमा तपाईंको पूर्ण एकाधिकार हुन्छ । आफ्नै घर भएकोले आफुले चाहेअनुसार डिजाइन, सजावट र विस्तार गर्न सकिन्छ । संरचनाको पुनः निर्माण गर्न अरूको अनुमति लिनु पर्दैन ।

    एकल घरमा आफ्नो चाहनाअनुसार चल्न सकिन्छ भने अपार्टमेन्टमा सम्पूर्ण साझा सुविधा उपभोग गर्न सकिन्छ । दुवैका आ–आफ्नै फाइदा र बेफाइदा छन् ।

    गोपनीयता, सम्पत्ति माथिको पूर्ण अधिकार, आफ्नै कम्पाउन्ड, लामो समय भाडामा लगाउन सकिने, चाहेको समयमा उचित मूल्य लिएर बिक्री गर्न सकिने हुँदा एकल घर उपयुक्त हुने रियलस्टेट एजेन्सी नेपालभूमिका सञ्चालक विक्रम लामा बताउँछन् ।

    डेभलपर कम्पनीले निर्माण गरेका सामूहिक आवास परियोजना भित्रका एकल घर किनेमा धेरै सेवासुविधा साझा रूपमा उपभोग गर्नुपर्छ । खेल्न र घुम्नका लागि खुला ठाउँ राखिएको हुन्छ । ‘एकल घरमा सेवासुविधा राख्न आफैं लगानी गर्नुपर्ने भए पनि ती सेवा सुविधामा एकाधिकार हुने हुँदा स्वतन्त्र महसुस हुन्छ,’ सीईका अध्यक्ष राजभण्डारी भन्छन् ।

    एकल घरमा बस्दा जति आनन्द र स्वतन्त्र महसुस हुन्छ, त्यति नै बेफाइदा पनि छन् । पूरै परिवार व्यस्त हुनेका लागि एकल घर लाभदायक नहुने लामा बताउँछन् । उनी भन्छन्, ‘घर खरिद गरेपछि सम्पूर्ण जिम्मेवारी घरधनीकै हुने गर्छ । सुरक्षाका लागि कि आफैं घर कुरेर बस्नुपर्छ, कि तलब दिएर गार्ड राख्नुपर्छ । तर, अपार्टमेन्टमा साझा गार्डको व्यवस्था हुन्छ ।’

    सीईका अध्यक्ष राजभण्डारीका अनुसार घर मर्मतको काममा आवश्यक उपकरणमा लगानी र सम्पूर्ण खर्चको अभिभारा घरधनी आफैंले बोक्नुपर्ने हुन्छ । यसमा घरको आन्तरिक पक्षदेखि आँगन, बगैँचा, खानेपानी, ढलसम्म सम्पूर्ण समावेश रहन्छ । ‘घरमा अपार्टमेन्टभन्दा बढी बिल आउने गर्छ,’ उनी भन्छन्, ‘ठाउँ ठूलो हुने हुँदा  बिजुली बढी खपत हुन्छ । त्यस्तै, इन्टरनेट पनि कसैसँग साझेदारी गर्न सकिँदैन, पूरै बिल आफैँ तिर्नुपर्छ । ठूलो कम्पाउन्डवाला घर छ भने गोडमेल र सफासुग्घर गरिरहनुपर्छ ।’

    कहिलेकाहीँ मात्र बस्नेका लागि एकल घर ठीक नहुने लामा बताउँछन् । भन्छन्, ‘घरमा कम बस्यो भने चाँडै जीर्ण हुन्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ मात्र बस्नेका लागि घर उपयुक्त होइन ।’

    अपार्टमेन्टमा चोरीको समस्या हुँदैन । सीसी टीभी क्यामरा र गार्डको व्यवस्था हुन्छ । हाउजिङका एकल घरको सुरक्षाका लागि पनि सीसी टीभी क्यामरा र सुरक्षा गार्डको व्यवस्था गरिएको हुन्छ । तर, नेपालका अधिकांश घरमा सीसी टीभी क्यामरा र सुरक्षा गार्ड नहुने हुँदा चोरीको डर हुन्छ ।

    अपार्टमेन्टमा ढोका लगाएर जति दिन पनि निस्फिक्री बाहिर हिँड्न सकिन्छ । तर, घरमा ढोका लगाएर धेरैबेर बाहिर निस्कन सकिँदैन । ठूलो परिवारका लागि घर उपयुक्त भए पनि सानो परिवारका लागि ठीक नहुने लामा बताउँछन् । ‘सानो स्मार्ट फेमिलीका लागि स्मार्ट अपार्टमेन्ट ठीक हुन्छ,’ उनी भन्छन् ।

    अपार्टमेन्ट किन्नुका फाइदा र बेफाइदा 

    मर्मतसम्भारको झन्झट नलिन र किफायती विकल्पका रूपमा अपार्टमेन्ट किन्न सकिन्छ । काठमाडौँ उपत्यकामा निर्माण गरिएका अपार्टमेन्टका रेन्ज फरक–फरक छन् । अलि बढी कमाइ हुनेले हाई एन्ड लक्जरी अपार्टमेन्ट रोज्ने गरेका छन् । कम कमाइ हुने तर शहरकै बीचमा बस्न चाहनेले अफोर्डबल अपार्टमेन्ट रोज्छन् । तर, पछिल्लो समय निर्माणमा ब्रेक लाग्दा अपार्टमेन्टको स्टक करिब–करिब सकिन लागेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ बताउँछन् ।

    अग्ला भवनमा अपार्टमेन्ट खरिद गर्नुको पहिलो आकर्षण भनेको त्यहाँबाट देखिने सुन्दर दृश्य हो । आफ्नो निवासमा आरामसँग बसेर शहरका दृश्य नियाल्न सकिन्छ । अचेल बन्ने फ्ल्याटमा ठूला झ्याल, टेरेस, बाल्कोनीको सुविधा हुने गर्छ । सुत्ने कोठाबाटै बाहिरका सुन्दर दृश्य हेर्न सकिने लामा बताउँछन् ।

    महानगरीय क्षेत्रमा आवासका लागि अग्ला भवन निर्माण गरिनुको उद्देश्य शहरी विस्तारलाई नियन्त्रण गर्नु हो । शहरमा बन्ने घना बस्ती र त्यसले निम्त्याउने चाप र जनघनत्वलाई नियन्त्रण गर्नु हो । त्यसैले अधिकांश अग्ला अपार्टमेन्ट भवन शहरको प्रमुख केन्द्रमा निर्माण गरिन्छ । शहरको मध्य भागमा रहेका अपार्टमेन्टमा बस्दा छिटै र सजिलै शहरका प्रमुख ठाउँमा पुग्न सकिने र सेवासुविधा उपभोग गर्न सकिन्छ । काठमाडौँ उपत्यकाजस्तो ट्राफिक जाम भइरहने शहरको कुनाकाप्चामा गएर एकल घरमा बस्नुभन्दा शहरको बीचमा अपार्टमेन्टमा बस्नु लाभदायक हुने लामा बताउँछन् ।

    उनका अनुसार अपार्टमेन्टमा मर्मतसम्भारको दायित्व कम हुने र सुविधा उपभोगमा साझेदारी हुने भएकाले जिम्मेवारी पनि साझा रहन्छ । फनिर्सिङ, बिजुली, बगैँचालगायत सबैमा साझा उपभोग हुने भएकोले एकल घरमा जस्तो एक्लैले जिम्मेवारी लिनु पर्दैन ।

    अपार्टमेन्ट परियोजना अत्याधुनिक सेवासुविधाले सुसज्जित हुन्छन् । बिजुलीका लागि अतिरिक्त ब्याकअप, सीसी टीभी क्यामरा, सुरक्षा गार्ड, उच्च गतिका लिफ्ट आदि सुविधा यसभित्र पर्छन् । यस्ता सेवाको उपलब्धताले त्यहाँ बस्ने मानिसको दिनचर्या थप सहज हुन्छ । सीईका अध्यक्ष राजभण्डारीका अनुसार आजभोलि अपार्टमेन्टभित्र मनोरञ्जन क्षेत्र, व्यायामशाला, स्विमिङ पुल, सपिङ मार्ट, थिएटर, खेल मैदान, बगैँचा, पार्किङलगायत दर्जनौँ सेवासुविधा उपलब्ध हुन थालेका छन् ।

    अपार्टमेन्टमा धेरैजसो खर्च र अतिरिक्त जिम्मेवारी अपार्टमेन्टमा बस्ने सबैका बीचमा साझा गरिएको हुन्छ । आवास मालिकको हैसियतले मर्मतसम्बन्धी खर्चबारे चिन्ता लिइरहनु पर्दैन । कुनै पनि किसिमको मर्मतका विषयमा फोन गरेर सरोकारवालालाई सूचित गरिदिए पुग्छ । तपाईंले मासिक रूपमा व्यवस्थापन समितिलाई बुझाउने शुल्क वा डेभलपरले सुरुवातमै लिने शुल्कबाट सम्पूर्ण मर्मतसम्भारको काम हुन्छ ।

    एकल घरभन्दा अपार्टमेन्टमा सुरक्षाको प्रत्याभूति बढी हुने लामा बताउँछन् । ‘सुरक्षा गार्डको अनिवार्य उपस्थितिले गर्दा अपार्टमेन्ट धेरै हदसम्म सुरक्षित मानिन्छ,’ उनी भन्छन्, ‘अपार्टमेन्ट सुदृढ सुरक्षा प्रणालीसहित बनेका हुन्छन् ।’

    अपार्टमेन्टको मूल्य एकल घरको तुलनामा कम हुने हुँदा धेरैको आवासमा पहुँच पुग्छ ।

    पूर्वसचिव एवं आवास विज्ञ किशोर थापाका अनुसार एकल घर किन्न नसक्नेहरूले बाध्यताले मात्र अपार्टमेन्ट किन्ने गर्छन् । अपार्टमेन्ट बसाइका फाइदासँगै बेफाइदा पनि उत्तिकै छन् ।

    पहिलो कुरा, अपार्टमेन्ट बसाइ निकै साँघुरो हुन्छ । ठूलो परिवारका लागि उपयुक्त हुँदैन । ठूलो क्षेत्रफलको अपार्टमेन्ट खरिद गर्दा एकल घरबराबर नै खर्च गर्नुपर्छ । नेपालमा ठीकठीकै अपार्टमेन्ट किन्न पनि एक करोड रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ ।

    अपार्टमेन्टमा केही बिग्रिएमा त्यसको मर्मत बिल्डिङको व्यवस्थापन समितिले गर्छ । तर, अप्रत्यक्ष रूपमा तपाईंबाट शुल्क लिइएको हुन्छ । भवन उपभोक्ता तथा व्यवस्थापन समितिले सामान्यतया मासिक र वार्षिक रूपमा शुल्क लिएका हुन्छन् वा अपार्टमेन्ट किन्नुअगाडि नै एकमुष्ट रकम लिएका हुन्छन् । जुन रकम भवनको मर्मतसम्भार र अन्य साझा सुविधाको उपभोग गरेबापत र त्यसको मर्मतको लागि प्रयोग गरिन्छ ।

    रियल स्टेट व्यवसायी लामाका अनुसार अपार्टमेन्ट बसाइले मानिसको गोपनीयतालाई धेरै प्रभाव पारेको हुन्छ । गोप्य कुराकानी कसैले सुन्ला कि भन्ने चिन्ता सधैँ रहन्छ । अग्ला भवनमा धेरै अपार्टमेन्टको लागि साझा प्रवेशद्वार र कोरिडोर हुन्छ । धेरै मानिसको साझा स्वामित्व रहने भएकोले कोलाहल हुने सम्भावना त्यस्तै हुन्छ । होहल्ला मन नपराउनेका लागि अपार्टमेन्ट उपयुक्त हुँदैन ।

    अपार्टमेन्टमा आफुखुशी सुधारको अधिकार पाइँदैन । ‘अपार्टमेन्टमा चाहेजस्तो डिजाइन थप्ने वा संरचना विस्तार गर्ने कुनै पनि कार्य स्वेच्छाले गर्न पाइँदैन,’ लामा भन्छन्, ‘त्यसका लागि सरोकारवालासँग स्वीकृति लिनुपर्छ र अनुमतिका लागि विभिन्न प्रक्रियामा जानुपर्छ ।’

    भित्ता रसाउने र ओसिलो पर्खाल धेरैजसो अपार्टमेन्टधनीले भोग्ने समस्या हो । यसबाहेक अपार्टमेन्टलाई राम्रो आकारमा राख्नु पनि आफैमा चुनौती हुन सक्छ । अग्ला अपार्टमेन्ट भवन प्रायः शहरको बीचमा हुन्छन् । ती अपार्टमेन्टमा पुग्नका लागि बाहिर व्यस्त सडक पार गर्नुपर्ने हुन्छ ।

    अपार्टमेन्टमा खुम्चिएर बस्नुपर्छ । सेवासुविधा साझा प्रयोग गर्नुपर्छ । व्यक्तिगत लाइफ खुम्चिन्छ । बूढाबूढी र बच्चालाई घाम ताप्न, खेल्न र घुमफिरका लागि निस्कने ठाउँ हुँदैन ।

    अग्ला भवनमा बसाइ सर्नुअघि विचार गर्नुपर्ने महत्वपूर्ण कुरा सुरक्षा पनि हो । बिजुली, आगोको जोखिम र त्यसले निम्त्याउने दुर्घटना यस्ता अग्ला आवासीय भवनमा भइरहन्छन् । त्यतातिर पनि विचार प¥याउनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij